काठमाडौं– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ निर्वाचनको परिणामले अहिलेको व्यवस्थामाथि नै प्रश्न उठाएको बताएका छन्।
शुक्रबार सरकार गठन तथा समसामयिक राजनीति विषयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै अहिलेको उपलब्धि रक्षा गर्न आवश्यक भएको बताए।
उनले भने, ‘यो निर्वाचनले केही नयाँ दलको पनि उदय भएको छ। ती दलको एजेण्डाबारे बोलेका छैनन्। तर, पुराना दलहरुको केही सीट घटेको छ। नयाँले दल जन्मनुको पछाडि राजनीतिमा केही संकेत देखिएको छ।’
यो व्यवस्था जोगाउन नसके मुलुकमा अस्थिरता र अराजकता बढ्ने बताए। मुलुक संकटमा पुगेको बेलामा दलहरुबीच संवाद र सहकार्य गरेर जानुपर्ने बताए।
उनले भने, ‘अहिले दलहरुबीच सहमति र समझदारीको खाँचो छ। यस्तो अवस्थामा एकले अर्कालाई निषेधको बाटोमा जानु हुँदैन । यो पनि एउटा परिक्षणको रुपमा रहेको छ। एकले अर्कालाई समाप्त पार्ने दिशातर्फ जान थाल्यो भने मुलुक गम्भिर समस्यामा पर्नसक्छ।’
उनले कम्युनिष्ट आन्दोलन सोझो ढंगले अगाडि नबढेकोप्रति चिन्ता व्यक्त गरे।