काठमाडौं– जिल्ला अस्पताल मुगुलाई १५ शय्याबाट ५० शय्याको बनाउन मागसहित कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष ज्ञापनप्रत्र पेस गरिएको छ। जिल्ला अस्पताल मुगुमा मुख्यमन्त्री शाहीलाई स्वागत गर्दै अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लले मुख्यमन्त्री शाहीलाई अस्पतालको स्तरवृद्धि १५ शय्याबाट ५० शय्या बनाउन पहलको लागि ज्ञापनपत्र बुझाएका हुन्।
२०६३ सालबाट प्राथमिक स्वास्थ्य केन्द्रको सेवाबाट सुचारु भएको जिल्ला अस्पताल मुगु १५ शय्याको मान्यताका साथ सेवा प्रवाह भइरहेको छ। कोरियाली संस्था कोइएकाले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको र केही आवश्यक उपकरण पनि सहयोग गरेकाले जिल्ला अस्पताल १५ शय्याको मान्यता पाएको भए पनि हाल ५२ शय्यासम्म सञ्चालन गरेका अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्रबहादुर मल्लले बताए।
सुविधासम्पन्न अस्पताल भवन छ। दुई जिल्ला मुगु र हुम्लाका बिरामीको चाप जिल्ला अस्पतालमा हुने भएकाले कागजीरुपमा १५ शय्याको मात्र भएकाले ५० शय्याको लागि स्तरवृद्धि गर्न मुख्यमन्त्रीसँग पहल गर्न माग गरिएको अध्यक्ष मल्लले बताए।
जिल्ला अस्पतालमा सरुवा विभागको छुट्टै भवन हुनुपर्ने भए पनि त्यो नभएकाले संँगै सेवा प्रवाह गर्दा बिरामी मर्कामा पर्ने गरेका छन्। त्यसको लागि पनि बजेट व्यवस्थासहितको माग गरिएको छ। जिल्ला अस्पतालमा खानेपानीको समस्यादेखि चिकित्सक आवास गृह पनि जीर्ण भएको ज्ञापनपत्रमा उल्लेख गर्दै त्यसका लागि पनि बजेट व्यवस्थापनको माग गरिएको छ।
जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भएपनि सञ्चालनमा छैन। अक्सिजन प्लान्ट सिलिन्डर व्यवस्थापन तथा ढुवानीका लागि बजेट व्यवस्थापन गर्न, जिल्ला अस्पतालमा औषधि पर्याप्त छैन, औषधि आपूर्तिका लागि बजेट व्यवस्थालगायत अस्पताल कर्मचारीको दरबन्दी माग र करार कर्मचारीका सेवासहित मुख्यमन्त्री शाहीलाई पहल गर्न मागसहित ज्ञापनपत्र बुझाएको जिल्ला अस्पताल मुगुका अध्यक्ष मल्लले बताए।
यसैबीच नेपाल निजामती कर्मचारी युनियन मुगुले पनि कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीसमक्ष विभिन्न माग राख्दै पत्र पेस गरेको छ।