रामहरि खतिवडाले भने: कुलिङ पिरियडमा त्रुटि भएको हो, तर मबाट होइन - Chaitanya News
  • 2026-05-24
  • 10:08:17
  • आइतबार,जेठ १०, २०८३
  • रामहरि खतिवडाले भने: कुलिङ पिरियडमा त्रुटि भएको हो, तर मबाट होइन

    रामहरि खतिवडाले भने: कुलिङ पिरियडमा त्रुटि भएको हो, तर मबाट होइन

    काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको तर, त्रुटि आफूबाट नभएको बताएका छन्।

    संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिले गरेको सोधपुछका क्रममा खतिवडाले यस्तो बताएका हुन्।

    खतिवडाले सोधपुछका क्रममा व्यक्त गरेको धारणाको संक्षेपीकरणमा यस्तो उल्लेख छ। जो मंगलबार सभामुख देवराज घिमिरेलाई छानकिन समितिका सभापति जीवन परियारले बुझाएको प्रतिवेदनमा समावेश छ।

    ‘‘निश्चय नै त्रुटि नभएको भन्ने होइन तर म बाट होइन’ सभापति खतिवडाले भनेका छन्, ‘म कुलिङ अफ पिरियड राख्ने पक्षमा सुरुदेखि आजसम्म छु र भोलि पनि राष्ट्रिय सभाले यो राख्ने प्रावधान ल्यायोस् भन्ने पक्षमा छु।’

    निजामती सेवा विधेयक पारित गर्दै गर्दा सरकारी कर्मचारी सबैलाई कुलिङ पिरियड लागु गर्ने गरी प्रावधान राखिएको पनि उनले बताएका छन्।

    ‘निजामती र सरकारी भन्ने दुवै कुलिङ अफ पिरियडमा राखुको कारण सरकारको सुविधा लिएकाहरु सबैलाई समेट्न खोजिएको हो’ उनले भनेका छन्।

    सभापति खतिवडाका अनुसार संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा गइसकेपछि यो कानुन देशको संविधान पछिको अति नै महत्त्वपूर्ण कानुनको रूपमा रहेको स्पिरिटमा छलफल भएको थियो।

    छिटो र राम्ररी निर्माण गरौं भनेर २०८१ भदौ २० गतेदेखि विधेयकमा छलफल सुरुवात भएको उल्लेख गर्दै उनले दफावार छलफलका लागि उपसमितिलाई जिम्मेवारी दिइएको बताए।

    समितिमा कुलिङ अफ पिरियडबारे ब्यापक छलफल भएको पनि उनले बताएका छन्।