काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा)ले बारा क्षेत्र नम्बर २ को चुनावी समीक्षा गरेको छ। सो क्षेत्रबाट जसपाका कार्यकारिणी सदस्य रामसहाय यादव विजय भएका थिए।
बाराको ४ नम्बर क्षेत्रमा बसेको समीक्षा बैठकमा एमालेबाट चुनावमा धोखा भएको निष्कर्ष निकालेको सो पार्टीका नेता रामसहाय यादवे बताए। दई पार्टीबीच गठबन्धन भएपनि एमालेले जसपालाई उल्लेख्य मत नदिएको गुनासो उनले गरे।
‘एमालेले मतदान गरेको भए अझै बढी मतले चुनाव जित्न सक्थेँ, उनले भने, ‘एमालेले धोका दियो नै आफ्नो पार्टीका कतिपय नेताले पनि धोखा दिएका छन्।’ जसपाका नेता रामकिशोर यादव र कामेश्वर यादवले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए भने शारदा शंकर साह कलवारले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए। त्यसले गर्दा एमालेका मतदाता विभाजित भएर पार्टीलाई असर गरेको निष्कर्ष बैठकले निकालेको छ।
रामसहाय यादवले १३ हजार ८२२ मत ल्याएर चुनाव जितेका थिए भने उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार १३ हजार ४६८ मत ल्याएका थिए। सोही पार्टीबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवले ११ हजार ४३ मत ल्याएका थिए ।
समीक्षा बैठकले प्रतिवेदन तयार गरेर केन्द्रमा पठाउने नेता यादवले बताए।