काठमाडौं– नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास सुरु भएको छ। अभ्यास सूर्यकिरण नाम दिइएको उक्त सैन्य अभ्यास रुपन्देहीको सालझुण्डीमा शुक्रबार सुरु भएको हो।
नेपाली र भारतीय सेनाबीच हुनेसैन्य अभ्यासमा नेपाली सेनाका तर्फबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना फौज सहभागी रहेका छन्। भारतीय सेनाको तर्फबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना फौज सहभागी छन्।
सैन्य अभ्यास ‘सूर्यकिरण’को यो १६औं संस्करण हो। सैन्य अभ्यासको सालझुण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन्।
गतवर्ष सैन्य अभ्यासको १५ औं संस्करण भारतको पिथौरागढमा भएको थियो। नेपाल र भारतका फौजबीच २०६७ देखि संयु्क्त सैन्य अभ्यास हुँदै आएको छ।
![]()
अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृति प्रकोप, पर्यावरण संरक्षणमा केन्द्रित हुनेछ। १४औं संस्करण कोरोना भाइरस संक्रमणको जोखिमका कारण भएको थिएन।
शुक्रबारबाट सुरु भएको सैन्य अभ्यास पुस १४ गतेसम्म चल्ने छ। नेपाली सेनाले अमेरिकी र चिनियाँ जनमुक्ति सेनासँग समेत सैन्य अभ्यास गर्दै आएको छ। कोरोना संक्रमणपछि नेपाली सेनाले भारत र अमेरिकासँग नियमितरूपमा सैन्य अभ्यास गरिरहेको छ।
नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास भने अहिले रोकिएको छ।
![]()