एकैपटक साढे आठ हजार सशस्त्र जवानको सरुवा - Chaitanya News
  • 2026-04-24
  • 07:25:47
  • शुक्रबार,बैशाख ११, २०८३
  • एकैपटक साढे आठ हजार सशस्त्र जवानको सरुवा

    एकैपटक साढे आठ हजार सशस्त्र जवानको सरुवा

    काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालले मंगलबार एकैपटक आठ हजार ४८८ जना जवानको सरूवा गरेको छ।

    सरुवा गर्न केही समय अघि देशभरका जवानहरूलाई उनीहरूको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम भराएको थियो।

    सोही अनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    यस्तै सीमावर्ती इलाकाका युनिटहरूमा लामो समय दरबन्दी भएका जवानहरूलाई सीमा इलाका बाहेक अन्यत्र सरुवा गरिएको छ।

    सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको थियो।

    यस्तै मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको डिएसपी थापाले बताए।

    उनका अनुसार घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको हो।

    विगत देखिकै सरुवा सम्बन्धी गुनासोलाई सम्बोधन गर्दै श्रीमान श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ।

    मुख्यालयले फारम भराएर जवानहरूको इच्छा अनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक हो। यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासो समेत कम हुँदै जाने विश्वास मुख्यालयको छ।