संसद्को क्यालेन्डरमा समावेश भएन शिक्षा विधेयक र निजामती विधेयक - Chaitanya News
  • 2026-05-13
  • 18:51:51
  • बुधबार,बैशाख ३०, २०८३
  • संसद्को क्यालेन्डरमा समावेश भएन शिक्षा विधेयक र निजामती विधेयक

    संसद्को क्यालेन्डरमा समावेश भएन शिक्षा विधेयक र निजामती विधेयक

    काठमाडौं– प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको छ । तर क्यालेन्डरमा सरकारले प्राथमिकता दिएको भनिएको विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयक अगाडि बढाउने कार्यसूची समावेश गरेको छैन ।

    निजामती सेवा विधेयक प्रतिनिधि सभामै पुगेर अड्किएको छ। विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ।

    गत मंगलबार प्रतिनिधि सभाको बैठकमा निजामती सेवा विधेयक पारित गर्ने कार्यसुची थियो। तर, त्यसदिन सभा उक्त कार्यसूचीमा प्रवेश नै गरेन।

    बिहीबार बैठक बस्दैछ। कार्यसूचीमा निजामती विधेयक छैन। असार १५ गते सम्मको पाक्षिक क्यालेन्डरमा समेत यो विधेयक अगाडि बढाउने विषय समावेश हुन नसकेको हो।

    बरु निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयम छलफलमा छन्। गत सोमबार मन्त्रिपरिषद्‍को बैठकमै छलफल भएको थिय । बुधबार प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरूसँग छलफल गरे।

    विद्यालय शिक्षा विधेयक पनि प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा परेको छैन। असार १५ गते सम्म विधेयक पारित गर्ने सरकारकै प्रतिबद्धता छ। तर, त्यसबेलासम्मको क्यालेन्डरमा यो विषय पर्न नसकेको हो।