सहकारीको समस्या सम्बोधनमा मेरो पहल रहनेछ : गृहमन्त्री खाँण - Chaitanya News
  • 2026-05-07
  • 02:04:13
  • बुधबार,बैशाख २३, २०८३
  • सहकारीको समस्या सम्बोधनमा मेरो पहल रहनेछ : गृहमन्त्री खाँण

    सहकारीको समस्या सम्बोधनमा मेरो पहल रहनेछ : गृहमन्त्री खाँण

    काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारसँग विभिन्न कोषमा रहेको रकम बजारमा ल्याउन आवश्यक रहेको औंल्याएका छन्। मन्त्री खाँडले विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असरले नेपालका बैंक वित्तिय क्षेत्र, उद्योग व्यवसायीमात्र नभएर सहकारी क्षेत्रमा समेत असर परेको बताए।

    ‘राज्यको विभिन्न कोषमा रहेको रकम खर्च गरेर बजारमा ल्याउने र त्यो रकमको सदुपयोगितामा संवेदनशील हुने हो भने पनि केहि हदसम्म समस्या समाधान हुनसक्छ। सहकारी अभियानको पछिल्लो मागको विषयमा सरकार संवेदनशील हुन आवश्यक छ’ उनले भने।

    सहकारीमा वर्तमान समयमा देखिएको समस्याको सहजीकरण गर्न राष्ट्रिय सहकारी महासंघद्वारा गठित उपसमितिको आयोजनामा आइतबार महासंघ, राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनका सल्लाहकारहरुको काठमाडौंमा संयुक्त बैठक बसेको थियो। तीनवटै छाता संघका सल्लाहकारहरूले सहकारीको समस्या समाधानका लागि सक्दो पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    सो छलफलमा महासंघका सल्लाहकार समेत रहेका गृहमन्त्री खाँणले आर्थिक नीति र गतिविधिले मुलुकको सबै क्षेत्र प्रभावित हुँदा सहकारी क्षेत्र पनि प्रभावित भएको बताउँदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने बताए।

    उनले भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा अझै ठूलो संख्यामा सहकारीकर्मीहरुको प्रतिनिधित्व हुनुपर्नेमा समेत जोड दिए। महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा रहेको समस्या पहिचान तथा सहजीकरण उपसमितिका सदस्य सचिव महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र समाधानका विषयमा प्रस्तुति गर्दै महासंघ, बैंक तथा नेफ्स्कूनका सल्लाहकारहरूले सहकारी क्षेत्रको समस्या सम्बोधन गराउनका लागि आफ्नो पहलकदमी रहने बताइन्।