धनगढी– सुदूरपश्चिम प्रदेशबाट यस पटक प्रतिनिधि सभामा २० जना सांसद बन्नुहुने भएको छ। विभिन्न राजनीतिक दलले समानुपातिकतर्फ निर्वाचन प्रणालीबाट चार जनालाई प्रतिनिधि सभा सदस्यमा चयन गरेपछि यो सङ्ख्या पुगेको हो। यो प्रदेशबाट पहिलो हुने निर्वाचन प्रणालीमार्फत १६ जना प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका छन्।
दलहरूले आफ्नो भागमा परेको सिटअनुसार समानुपातिकतर्फबाट सांसद बन्नेहरूको सूची निर्वाचन आयोगमा बुझाइसकेका छन्। आयोगले दलहरूको चयनलाई औपचारिकता दिन भने बाँकी नै छ। आयोगमा बुझाइएको सूचीअनुसार नेपाली कांग्रेसबाट कैलालीकी ईश्वरी न्यौपाने र डडेल्धुराबाट डा.आरजु राणा देउवा पनि समानुपातिक सांसदको सूचीमा पर्नुभएको छ। उनलाई ललितपुरबाट समानुपातिक सूचीमा राखिएको छ।
समानुपातिक तर्फबाट सांसदको सूचीमा पर्नुभएकी न्यौपाने २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं. १ मा प्रत्यक्षबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए। निर्वाचनमा उनले तेस्रो स्थान प्राप्त गरेका थिए।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नीसमेत रहेकी नेपाली कांग्रेसका नेत्री डा. आरजु राणा देउवा पनि २०७४ को निर्वाचनमा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिइन। त्यो निर्वाचनमा उनी नेकपा (एमाले)का नारदमुनि रानासँग पराजित भएकी थिइन। नेकपा (एमाले)बाट बाजुराका दयालसिंह शाही समानुपातिक सांसदमा चयन भएका छन। पिछडिएको क्षेत्रबाट उनलाई एमालेले सूचीमा समावेश गरेको छ।
यसैगरी नेकपा (माओवादी) केन्द्रले कैलालीकी रुपासोसी चौधरीलाई समानुपातिक चयन गरेको छ। थारू समूहबाट उनलाई समानुपातिक सांसदको सूचीमा राखिएको हो। क्षेत्र नं. १ बाट चौधरीले २०६४ को संविधान सभाको निर्वाचनमा जित हासिल गरेका थिइन।
प्रदेशमा अठार महिला
सुदूरपश्चिम प्रदेश सभाको समानुपातिक तर्फको २१ सिटका लागि पनि समानुपातिकतर्फबाट प्रदेश सभा सदस्यमा चयन भएका उम्मेदवार सूची दलहरूले आयोगमा बुझाएका छन्। यो प्रदेशमा नेपाली कांग्रेस र एमालेले सातरसात, माओवादी केन्द्रले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई, राप्रपा र नेकपा .एकीकृत समाजवादीं)ले एक–एक सिट पाएका छन्।
पाएको सिटमा नेपाली कांग्रेसले खसआर्यतर्फबाट कञ्चनपुरकी मधु भारती, डडेल्धुराकी सरस्वती खड्का, बाजुराकी जुनाकुमारी दानी, कञ्चनपुरकी डम्मरी महरा, कैलालीकी तुल्सी देवकोटालाई चयन गरेको छ।
यसैगरी थारूतर्फ कञ्चनपुरकी गीता चौधरी र दलिततर्फ सोही जिल्लाकै ललिता सुनारलाई समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य
छानिएको छ। नेकपा (एमाले)बाट खसआर्यबाट कैलालीका धर्मराज पाठक, बैतडीका राजेन्द्रसिंह रावल, बाजुराकी सन्तोषकुमारी शर्मा (थापा), कञ्चनपुरकी जानकी बम ऐर, डोटीकी निर्मलादेवी साउँद (पिछडिएको क्षेत्र) समानुपातिकतर्फबाट प्रदेश सभा सदस्यको सूचीमा पर्नुभएको छ। यसैगरी थारू कोटाबाट कञ्चनपुरकी कोइलीदेवी चौधरी र दलितबाट सोही जिल्लाकै हीरा सार्की समानुपातिकतर्फको प्रदेश सभा सदस्यको सूचीमा परेका छन।
नेकपा (माओवादी केन्द्र)बाट खसआर्यतर्फ डडेल्धुराकी जानकीदेवी माल, कैलालीकी जानकीदेवी कुँवर र दलिततर्फ दार्चुलाकी लक्ष्मी विक समानुपातिक प्रदेश सभा सदस्य बन्नुहुने भएको छ। नागरिक उन्मुक्ति पार्टीबाट दामोदर पण्डित र कैलालीकी सुनिता चौधरी समानुपातिकतर्फ प्रदेश सभा सदस्यको सूचीमा परेका छन। सो पार्टीको कलस्टर नमिलेको बताइन्छ।
यस्तै नेकपा (एकीकृत समाजवादी)बाट कञ्चनपुरकी माया पन्त र राप्रपाबाट कैलालीकी खेमादेवी विष्ट समानुपातिक प्रदेश सभा सदस्य बन्ने भएका छन। समानुपातिकतर्फबाट प्रदेश सभामा १८ जना महिला प्रदेश सभा सदस्यको उपस्थिति हुने सुनिश्चित भएको छ।
संविधानले कम्तीमा पनि महिलाको उपस्थिति ३३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ। प्रत्यक्षबाट महिला प्रदेश सभा सदस्य नभएकाले ३३ प्रतिशत पु¥याउन दलहरूले समानुपातिकतर्फ बढी प्राथमिकता महिलालाई दिएका हुन्।