काठमाडौं– सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीच छलफल चलिरहेको विषयमा आफूलाई सूचना आएको बताएका छन्।
योसँगै उनले अबको सरकार नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा बन्न सक्ने संकेत समेत गरेका छन्।
आइतबार ललितपुरमा आयोजना गरिएको प्रेस सेन्टरको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोेधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। यस्तो भएको खण्डमा आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको पनि उनले बताएका छन्।
‘कांग्रेस र एमाले मिलेर भित्रभित्रै सरकार बनाउने वार्ता भइरहेको हामीले थाहा पाएका छौँ,’ उनले भनेका छन्, ‘त्यस्तो भयो भने माओवादी केन्द्र प्रतिपक्षमा बस्छ, हामी संसद र सडकलाई उपयोग गर्छौँ।’
उनले कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि उनीहरु जुधेर सरकार सफल नहुने पनि बताएका छन्।
यही कार्यक्रममा प्रचण्डले अहिले पनि राष्ट्रिय राजनीतिको मियो नेकपा माओवादी केन्द्र नै रहेको बताएका छन्।