काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ।
एमाले अध्यक्ष ओलीलाई भेट्न कांग्रेस नेता केसी बालकोटस्थित उनकै निवास पुगेका हुन्। अध्यक्ष ओली र कांग्रेस नेता केसीबीच करिब दुई घण्टा छलफल भएको छ।
ओलीको निमन्त्रणामा केसी उनलाई बालकोट पुगेको केसीको सचिवालयले जनाएको छ। आइतबार साँझ भएको भेटमा अध्यक्ष ओली र नेता केसीबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ। उनीहरूबीच नयाँ सरकार गठन, अर्थतन्त्र सुधारका लागि दलहरूबीच आवश्यक एकता र सहकार्य गर्नेबारे पनि छलफल भएको केसीको सचिवालयले जनाएको छ।
भेटमा अध्यक्ष ओलीले भारतले अतिक्रमण गरेको नेपाली भू–भाग फिर्ता गराउन भारतीय पक्षसँग वार्ता गर्नुपर्ने बताएका थिए। ओली प्रधानमन्त्री हुँदा सरकारले भारतले अतिक्रमण गरेको भनिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर चुच्चे नक्सा जारी गरेको थियो।
भेटमा द्वन्द्वकालीन मुद्दाहरू किनारा लगाउने विषयमा पनि उनीहरूबीच कुराकानी भएको छ। भ्रष्टाचारविरुद्ध एक भएर लड्ने र अन्तर्राष्ट्रिय बजारमा घटेको पेट्रोलियम पदार्थको मूल्यअनुसार नै नेपालमा त्यसको घटाउने विषयमा सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्नेमा अध्यक्ष ओलीले जोड दिएको केसीको सचिवालयले जनाएको छ।