मधेस प्रदेशका ४३ समानुपातिक सांसदमा ३४ महिला - Chaitanya News
  • 2026-05-07
  • 01:09:58
  • बुधबार,बैशाख २३, २०८३
  • मधेस प्रदेशका ४३ समानुपातिक सांसदमा ३४ महिला

    मधेस प्रदेशका ४३ समानुपातिक सांसदमा ३४ महिला

    जनकपुर — मधेस प्रदेशका ४३ जना समानुपातिक सांसदमा ३४ महिलाले अवसर पाएका छन्। प्रत्यक्षतर्फ प्रदेशमा जम्मा ४ जना महिला मात्र निर्वाचित भएका थिए। त्यसैले दलहरूले समानुपातिकतर्फ धेरैजसो महिला सांसद समेट्नुपरेको हो।

    समानुपातिकतर्फका ४२ जना पहिलो पटक सांसद बनेका हुन् । जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक सांसद बनेका मनीषकुमार सुमन यसअघि सप्तरीबाट चुनाव जितेर सांसद थिए।

    धनुषा र महोत्तरीबाट धेरैजसो समानुपातिक सांसद चयन भएका छन्। धनुषाबाट कांग्रेसकी अञ्जना पण्डित, एमालेकी पलेटीदेबी महरा, पल्टीदेवी यादव, फुलोकुमारी देवी, शिला यादव तथा नाजिमा खातुन, एकीकृत समाजवादीबाट रत्नेश्वर गोइत यादव, माओवादीबाट शारदा दास पहाडी र जसपाबाट ममता मण्डल समानुपातिक सांसद बनेकी छन्। यस्तै, महोत्तरीबाट कांग्रेसका राकेशकुमार सिंह र नुरुन नेसा, जनमतबाट चन्दनकुमार सिंह तथा अपनताकुमारी साह, लोसपाबाट रूपाकुमारी यादव तथा रमिता प्रधान, राप्रपाबाट बञ्चन बिच्छा र जसपाबाट बिन्दुकुमारी यादव समानुपातिक सांसद छानिएका हुन्। लोसपाको भागमा परेको दुई र राप्रपाको भागमा परेको १ समानुपातिक सांसद भने महोत्तरीकै परेका छन्।

    तेस्रो बढी समानुपातिक सांसद भने सप्तरीले पाएको छ। सप्तरीले ६ जना समानुपातिक सांसद पाएका छन्। कांग्रेसबाट नीलमकुमारी रजक, जनमत पार्टीबाट बबिताकुमारी राउत इसर तथा रञ्जुकुमारी मण्डल खंग, माओवादीबाट मालाकुमारी कर्ण र जसपाबाट किरणकुमारी साह तथा मनीषकुमार सुमन समानुपातिक सांसद छानिएका छन्। यस्तै, सिरहाले भने ५ जना समानुपातिक सांसद पाएको छ। कांग्रेसबाट रेखा ठाकुर तथा जीवछीकुमारी यादव, जनमतबाट भाग्यश्री चौधरी र जसपाबाट चन्द्रेश्वर सदा, ललिता दास तथा सैदा खातुन सांसद बनेका हुन्। रौतहट, बारा र सर्लाहीले भने ४–४ जना समानुपातिक सांसद पाएका छन्। सर्लाहीका चारै जना सांसद महिला हुन्। सर्लाहीबाट कांग्रेसकी शकुन्तीदेवी महरा तथा इन्दुकुमारी साह, नेपाल संघीय समाजवादी पार्टीकी बिमला अन्सारी तरुन्नुम र जनमत पार्टीबाट हसिना खातुन समानुपातिक सांसद बनेकी छन्।

    रौतहटमा भने एमालेबाट जयचन्द्रप्रसाद पटेल, एकीकृत समाजवादीबाट किशोरी देवी, जनमत पार्टीबाट वसन्तकुमार कुशवाहा र जसपाबाट शोभा देवी समानुपातिक सांसद बनेका हुन्। बाराबाट कांग्रेसकी मीनाकुमारी लामा, एमालेबाट मञ्जुकुमारी थापा मगर, नागरिक उन्मुक्ति पार्टीबाट रामचन्द्र चौधरी र एकीकृत समाजवादीबाट लक्ष्मी देवी सांसद चयन भएका हुन्। पर्साबाट सबैभन्दा कम दुई जना मात्र समानुपातिक सांसद छानिएका छन् । एमालेकी बिनादेवी शर्मा र जसपाबाट मोहम्मद युसुफ अली पर्साबाट समानुपातिक सांसद बनेका हुन्।

    प्रदेशमा नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपाले प्रत्यक्षतर्फ सिट नजिते पनि समानुपातिकतर्फ भने १–१ सिट पाएको छ। नेपाल संघीय समाजवादी पार्टीले भने यसअघि पनि प्रदेशसभामा समानुपातिकतर्फ १ सिट पाएको थियो। १ सय ७ सदस्यीय प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ जना छन्। प्रदेश सरकार गठनका लागि बहुमत पुर्‍याउन ५४ सांसद आवश्यक पर्छ। तर, कुनै दलको पनि बहुमत पुग्दैन। कांग्रेसले सत्ता गठबन्धनको सहयोगमा जनमत पार्टीलाई ल्याएर सरकार बनाउने कसरत थालेको छ।