ललितपुर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको जिकिर गरेका छन।
प्रेस सेन्टर नेपालले आज आइतवार ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको जिकिर गरे। उनले भने, ‘माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरि अन्तर्राष्ट्रिय शक्तिले पनि केही गर्न सक्दैन।’
माओवादीलाई निमिट्यान्न पार्न धेरै शक्ति लागेको बताउँदै उहाँले यसको रक्षा गर्ने दायित्व हामी सबैको भएको जनाए। ‘सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट नै छ’, उनले भने ‘६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ। हामी जहाँ उभिएका छौँ सरकार त्यही बन्छ।’ यो चुनाव अपेक्षित नभएको बताउँदै उहाँले खतम भएको देख्न चाहने शक्तिले माओवादीलाई कमजोर बनाउन खोजे पनि स्थिति त्यस्तो नभएको बताउए।
अन्तर्राष्ट्रिय गतिविधिको राम्रोसँग विश्लेषण गरि बहुध्रुवमा गएको विश्व परिघटना र अहिलेको जनमतलाई सही ढङ्गले बुझ्न र देशलाई नयाँ शिराबाट लैजान प्रेस सेन्टरले महतपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका उपलब्धिहरूको रक्षा र संस्थागतका लागि सूचना तथा सञ्चारमाध्यमबाट मिडिया विषयवस्तु बनाएर त्यसको सही बजारीकरण गर्नसमेत आग्रह गरे।
प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले प्रविधिको जति विकास भए पनि सही सामग्री उत्पादन प्रधान कुरा रहेको बताए।
बैठकमा प्रेस सेन्टरका प्रवास अध्यक्ष ओम शर्मा, केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा, सबै प्रदेश तथा प्रतिष्ठानका इन्चार्ज तथा अध्यक्ष र केन्द्रीय समितिका पदाधिकारीबीच समीक्षात्मक अन्तरक्रिया तथा छलफल भएको थियो।