काठमाडौं– नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं.१ ले नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक व्याज दरको विरुद्धमा विराटनगरको महेन्द्र चोकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ।
मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं. १ का अध्यक्ष संजय कुमार श्रेष्ठको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विराटनगर क्षेत्र लगायत प्रदेश १ मा संचालित विभिन्न अटोमोबाइल्स क्षेत्रसँग सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको थियो।
विरोध प्रदर्शनका क्रममा अटोमोबाइल्स व्यवसायीहरूले हातमा कालोपट्टी, कालो व्यानर र प्लेकार्ड बोकेर विराटनगरको महेन्द्रचोकमा शान्तिपूर्ण धर्ना दिएका थिए।
विरोध प्रदर्शनमा बैकिङ क्षेत्रको सहयोग विना अटोमोबाइल्स क्षेत्र चल्नै नसक्ने भएकोले त्यसको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाहरुले ७.५ प्रतिशतको व्याजदर बढाएर १६.५ प्रतिशतसम्म पुयाएको जानकारी दिए।
मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश १ का अध्यक्ष संजयकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिलाई अझ गहन रुपमा समीक्षा गर्नु पर्ने र संस्थागत निक्षेपको व्याज दर ४ प्रतिशत कायम गरी लगानीयोग्य रकमको सुनिश्चितता गर्नु पर्ने बताए। कार जीप र भ्यान जस्ता नीति प्रयोजनका सवारी साधनहरुको आयात खुला भए पनि एलसी खोली ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनु पर्ने बताए।
सवारी साधन आयात खुला गरे पनि ५० प्रतिशत मार्जिन, ५० प्रतिशत मात्रै फाइनानसिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु मारमा परेको भन्दै उहाँले नगद मार्जिनलाई पुरानै अवस्थामा ल्याउनु पर्ने र ८० प्रतिशत फाइनान्सिङ बनाउनुपर्ने जस्ता माग राखे। अध्यक्ष श्रेष्ठले अटोमोबाइल्स व्यवसायीहरूले भोग्नु परेको १७–१८ प्रतिशत बैंक व्याज दरका कारण व्यवसायबाट हात धुनु पर्ने स्थिति आइलागेको कारण नाडाले ७ प्रदेशमा एकसाथ विरोध प्रदर्शन आयोजना गरेको जानकारी गराए।
‘जसले कर तिर्छ, उसैलाई पेल्छ, बैंकले अपमान गर्छ, सरकार ब्याजदर कहिले घटछ’ जस्ता नारा सहितको प्लेकार्ड बोकेर अटोमोबाइल्स क्षेत्रका व्यवसायी, कर्मचारी र श्रमिक मजदुरहरुले विराटनगरको महेन्द्र चोकमा विरोध प्रदर्शन गरेका थिए।