काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताएकी छन्। आइतवार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनीकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै उनले महिला हिंसा विरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताएकी हुन्।
अभियानको रूपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताइन्। मन्त्री रेग्मीले महिला हिंसा गाउँघरमा मात्रै नभई शहरी क्षेत्रमा पनि उत्तिकै भएको बताइन्। उनले समाजलाई सचेत नगराई महिला हिंसाको अन्त्य नहुने बताइन् । उनले राजनीतिक दलहरुले पनि महिला हिंसा विरुद्ध अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।
‘जति पढेलेखेको भए पनि हिंसा भएकै छ । त्यसैले दूरदराजको कुरा मात्रै होइन। जान्ने, सुन्ने उच्च ओहोदा भएको ठाउँमा पनि हिंसा भएकै छ। हामीले अब अभियानको रुपमा सडकमा गर्ने हो कार्यक्रम। अब कोठाभित्र कार्यक्रम गरेर हुँदैन। सडकमा हिंसाविरुद्धको अभियानको रुपमा सडक नाटक होस्। अथवा ब्यानर, माइक लिएर बाजागाजा लिएर सडकको कामसम्म पु¥याउनुपर्ने अवस्था छ। कानून हुँदाहुँदै पनि अपराधीले हातमा कानून लिएर अपराध गरिरहेको छ। त्यसैले हामी सबै सचेत हौँ’, मन्त्री रेग्मीले भनिन्, ‘समाजलाई सचेत नगराइकन यो हिंसाको अन्त्य हुँदैन। राजनीतिक दलले अभियानको रुपमा लिनैपर्छ। घोषणापत्रमा मात्रै लेखेर पुग्दैन। भाषण गर्दा मात्र भनेर पुग्दैन। अभियानको रुपमा राजनीतिक दलले यो समस्यालाई लिएको खण्डमा मात्रै न्यूनीकरण हुनसक्छ। समाज, राजनीतिक दल सबैलाई समेत गराऔँ।’
मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको बताउँदै भनिन्, ‘महिला हिंसा महिलाको मात्रै समस्या होइन। त्यसरी बुझ्नु हुँदैन। महिला हिंसा भनेको मुलुकको समस्या हो। समाज, राजनीतिक दल सबैको समस्या हो। महिला हिंसाविरुद्धको अभियान भन्ने महिला–महिला भेला हुने, छलफल गर्ने, महिला हिंसा छ भन्ने। त्यसले परिणाम निकालेन। अब यसको मोडालिटीमा परिवर्तन गर्नुपर्छ। हिंसाको जरो घरभित्र छ। घरभित्र महिला सुरक्षित छैन। समाजमा महिला हिंसा छ। राजनीतिक दलमा महिला हिंसा छ। राज्यसत्तामा छ। कार्यस्थलमा छ। हर ठाउँमा महिला हिंसा छ।’
मन्त्री रेग्मीले ९५ प्रतिशत घरमा कुनै न कुनै रूपमा महिला हिंसा हुने गरेको बताउनु भयो। महिला हिंसाको सम्बन्धमा प्रशस्त कानून भए पनि कानून कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको उनको भनाइ छ। उनले कानूनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइन्।