सडक वर्षौंदेखि कालोपत्रे नभएको भन्दै, कागेश्वरी मनोहरा नगरपालिकामा स्थानीयले गरे तालाबन्दी - Chaitanya News
  • 2026-05-07
  • 00:45:00
  • बुधबार,बैशाख २३, २०८३
  • सडक वर्षौंदेखि कालोपत्रे नभएको भन्दै, कागेश्वरी मनोहरा नगरपालिकामा स्थानीयले गरे तालाबन्दी

    सडक वर्षौंदेखि कालोपत्रे नभएको भन्दै, कागेश्वरी मनोहरा नगरपालिकामा स्थानीयले गरे तालाबन्दी

    काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। नगरपालिका कार्यालय अघिल्तिरको सडक वर्षौंदेखि कालोपत्रे नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन्।

    चाबेल–साँखुसडक खण्डको थली क्षेत्रको सडकमा समस्या भएको स्थानीय गुनासो छ। यो क्षेत्र नगरपालिकाको ५ नम्बर वडाअन्तर्गत पर्दछ।

    यो क्षेत्रको सडक निर्माणको नाममा वर्षौं काम नभएको स्थानीयको भनाइ छ। स्थानीयहरू नगरपालिकाका मेयर उपेन्द्र कार्की र वडाध्यक्ष शंकर पाण्डेको विरोध गर्दै तालाबन्दीमा उत्रिएका हुन्।

    उनीहरूका अनुसार लामो समयदेखि सडक कालोपत्रे नहुँदा धुलोको समस्या समाधान नभएपछि आन्दोलन गर्नुपरेको राप्रपा नेतृ कुन्ती पोखरेलले जानकारी दिइन्।

    पोखरेलले बर्षौदेखिको समस्या समाधानका लागि नगरपालिकाले पहल नगरेका कारण तालाबन्दीमा उत्रिनु परेको बताइन्। पोखरेलले भनिन्, ‘नगरपालिकाले आफ्नो क्षेत्राधिकार नभएको भन्दै सडकको समस्या समाधान भएन। त्यही भएर स्थानीय तालाबन्दीमा उत्रिएका हुन्।’

    नगरपालिकाले भने उक्त सडक निर्माणको जिम्मा नगरपालिकाको नभई सडक विभागको जिम्मामा भएको बताउँदै आएको छ।