चुनावमा जनताले कम्युनिष्टहरूलाई कारबाही गरेको धर्मेन्द्र बास्तोलाको दाबी - Chaitanya News
  • 2026-05-07
  • 00:45:37
  • बुधबार,बैशाख २३, २०८३
  • चुनावमा जनताले कम्युनिष्टहरूलाई कारबाही गरेको धर्मेन्द्र बास्तोलाको दाबी

    चुनावमा जनताले कम्युनिष्टहरूलाई कारबाही गरेको धर्मेन्द्र बास्तोलाको दाबी

    काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ’कञ्चन’ले अहिलेको चुनावमा नेपाली जनताले कम्युनिष्टलाई कारबाही गरेको बताएका छन्। शुक्रबार काठमाडौंमा “नेपाली कम्युनिष्ट आन्दोलनको आगामी दिशा“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

    नेपालका कम्युनिष्ट भन्नेहरु चाहे त्यो एमाले होस् या माओवादी केन्द्र, यिनीहरुले आफ्नो सिद्धान्त र नीति छोडेका कारण चुनावमा जनताले मतदान नगरेर उनीहरुलाई कारबाही गरेको कञ्चनको दाबी छ।

    अहिलेको नेपालको कम्युनिष्ट आन्दोलन पथभ्रष्ट भएको भन्दै अहिले नेपालमा कम्युनिष्ट भन्ने पार्टीहरुले सामान्ती प्रकारको व्यवहार गर्ने, आफ्नो सर्वहारा वर्गीय धर्मबाट च्यूत हुने र दलाल, भ्रष्टहरुलाई पोस्ने कार्य गरेका कारण जनताले सबक सिकाएको उनले बताए।

    संसद्वाद नेपालमा रहिरह्यो भने कम्युनिष्टको नाममा भोट थाप्नेहरु सबै नेपालबाट नामेट भएर जानेसमेत उनले बताए । नेपाल र नेपालीको हित चाहने हो भने नेपालका सम्पूर्ण कम्युनिष्टहरुको एकता र ध्रुवीकरण जरुरी भएको उनको भनाइ छ।

    नेपालका कम्युनिष्ट भन्ने पार्टीहरु प्राय साम्राज्यवादी र बिस्तारवादीहरुको चाटुकार बन्ने गरेका कारण जनतामा कम्युनिष्टप्रति वितृष्णा जागेको भन्दै कञ्चनले नेपालमा मात्र नभएर विश्वभर नै क्रान्तिकारीहरुका लागि परिस्थितिप्रतिकूल बन्दै गइरहेकाले सबै कम्युनिष्टहरुलाई एकीकृत र ध्रुवीकृत बन्न आग्रह गरे।