काठमाडौं– काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनको निगरानी गर्न स्यानिटरी ल्याण्डफिल साइटमा सीसीटीभी जडान सुरु भएको छ। महानगरका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा सीसीटीभी जडान सुरु गरिएको हो।
महानगर कृषि तथा वातावरण विभागकी प्रमुख सरिता राईका अनुसार फोहोर व्यवस्थापनमा गुनासो आउन थालेपछि सिसिटिभी जडान सुरु गरिएको बताइन्।
उनका अनुसार ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा भइरहेको सम्पूर्ण गतिविधिबारे महानगरबाटै निगरानी गर्न सकिनेछ। मेयर बालेनले राष्ट्रिय सभागृहस्थित आफ्नै कार्यकक्षबाट निगरानी गर्नेछन्। “आवश्यकता अनुसार टेकु ट्रान्सफर स्टेसनमा सीसीटीभी जडान गरिसकेका छौँ। हाल बञ्चरेडाँडामा जडान भइरहेको छ,” उनले भनिन्।
उनका अनुसार बञ्चरेडाँडा सीसीटीभी जडान भइसकेपछि मेयरसहित नगरप्रहरी बल, वातावरण विभागले निगरानी गर्नेछन्। विभागीय प्रमुख राई भन्छिन, “पहिलेदेखि पटक–पटक बञ्चरेडाँडामा समस्या आउने गरेको यथावत नै छ। ल्याण्डफिल साइटमा भइरहेको गतिविधिलाई महानगरको निगरानीमा ल्याउनको लागि यो प्रविधि जडान गरिरहेका हौँ।”
महानगरका अनुसार जडान गर्ने बजेट सुचना प्रविधि विभागबाट छुट्याइएको छ। उपत्यकाको फोहोर व्यवस्थापनमा अहिले कुनै पनि समस्या नआएको उनले बताइन्। “फोहोर व्यवस्थापनमा अहिले कुनै पनि समस्या आएको छैन। दैनिक २०० बढी टिप फोहोर बञ्चरेडाँडामा पुग्छ,” उनले भनिन्।
विगत १७ वर्षदेखि ल्याण्डफिल साइटमा उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर विसर्जन हुदै आएको छ।
प्रभावित क्षेत्र धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिका स्थानीयले सरकारसमक्ष विभिन्न माग राख्दै आएका छन्।
सरकारले ०६२ जेठमा तीन वर्षभित्र बञ्चरेडाँडामा अत्याधुनिक ल्याण्डफिल साइट निर्माणका लागि १ हजार ७९० रोपनी जग्गा अधिग्रहण गरेको थियो। जापान सहयोग नियोग ९जाइका० को २ अर्ब १० करोड सहयोग खर्चमा ल्याण्डफिल साइत निर्माण भएको थियो।
महानगरभित्र उत्पादन हुने ६०० मेट्रिक टन फोहोर आफ्नै क्षेत्रमा व्यवस्थापन गर्ने योजना बालेनको छ। अत्याधिनिक फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि महानगरले ६५ करोड बजेट छुट्याएको छ।
कुहिने र नकुहिने फोहोर वर्गीकरण, फोहोरबाट मोहोर बनाउने बालेनको चुनावी प्रतिवद्धता छ। उपत्यकाको फोहोरको दिर्घकालीन व्यवस्थापनका लागि जमिन खोज्ने र सरोकारवाला निकायसँग छलफल भइरहेको महानगरले जनाएको छ।