काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ। आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।
आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन्। अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताएका छन्।
आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै उक्त विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो। लामिछानेले सन् २०१४ मा अमेरिकी राहदानी लिएर नेपाल आएर सन् २०१५ मा नेपाली राहदानी लिएको पाइएको छ।
एउटा देशको नागरिकता खारेज नहुँदै अर्को देशको नागरिकता लिन र राहदानी लिन पाइँदैन। लामिछानेले भने सन् २०१४ मा अमेरिकी राहदानी लिएर सन् २०१५ मै नेपाली राहदानी पनि लिएको देखिन्छ।
विदेशी राहदानी नै खारेज नभई उनले कसरी नेपाली राहदानी लिए भन्ने विषयमा गृह र परराष्ट्रले अब छानबिन प्रक्रिया अगाडि बढाउने बताइएको छ।
यता, लामिछानेको नागरिकता विवादको विषयमाथि प्रहरीले पनि अनुसन्धान गरिरहेको जनाएको छ। गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंहुँदै प्रहरी परिसर पुगेको उक्त उजुरी प्राप्त भएसँगै अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
अन्य फौजदारी मुद्दा आकर्षित हुने विषयमा जस्तै यसमा पनि अनुसन्धानका क्रममा विभिन्न निकायको परामर्श लिइने परिसको तयारी छ।
परिसरले उजुरीसहितको पत्र आएपछि अनुसन्धानका क्रममा अब विभिन्न निकायमा यसबारे पत्राचार गर्ने तथा सरकारी वकिलहरूको पनि परामर्श लिएर प्रक्रिया अगाडि बढ्ने बताएको छ।
चितवन क्षेत्र नम्बर दुईबाट ठूलो मतअन्तर सहित निर्वाचित भइसकेका लामिछानेविरुद्ध निर्वाचनको दुई दिनपछि मंसिर ६ गते गृह मन्त्रालयमा छानबिन गरी कानुन अनुसार कारबाही गर्न माग गर्दै उजुरी दर्ता भएको थियो।
युवराज सफलले दिएको उक्त उजुरीमा लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः लिएको नदेखिएको र पहिला कै नागरिकताको आधारमा दल दर्ता गरेर निर्वाचन आयोगलाई समेत गुमराहमा राखेको आरोप छ।