काठमाडौं– चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ। रक्त क्यान्सरलगायत विभिन्न स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित जेमिनको ९६ वर्षको उमेरमा बुधबार सांघाईमा निधन भएको हो। जियाङ जेमिन सन् १९९६ को डिसेम्बरमा नेपाल आएका थिए।
सन् १९८९ मा तियानमेन स्क्वायर प्रदर्शनपछि जेमिन चिनियाँ कम्युनिस्ट पार्टीको उच्च नेतृत्वमा पुगेका थिए । उनले सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष र सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रूपमा चीनको नेतृत्व गरेका थिए। चीनको मुहार फेर्न एक दशकसम्म उनले उल्लेखनीय कार्य गरे।
उनको मृत्यु रक्त क्यान्सरका कारण अन्य अंगले काम गर्न छाडेपछि भएको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसीले)ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। उनी ‘एक उत्कृष्ट नेता’ र ‘लामो समयदेखि परीक्षित कम्युनिस्ट लडाकु’का रूपमा चिनिएको विज्ञप्तिमा उल्लेख छ।
सन् १९८९ मा बेइजिङको तियानमेन स्क्वायरमा भएका प्रदर्शनकारीमाथि भएको रक्तपातपूर्ण दमनपछि जियाङ सत्तामा पुगेका थिए, जसका कारण चीन अन्तर्राष्ट्रिय रूपमा बहिष्कृत भएको थियो । सो घटनाले कम्युनिस्ट पार्टीको शीर्षमा कट्टरपन्थी प्रतिक्रियावादी र सुधारवादीबीचको तितो शक्ति–संघर्षलाई जन्म दिएको थियो।
कट्टरपन्थी र थप उदारवादी तत्वलाई एकताबद्ध गर्ने आशामा उनलाई सम्झौतावादी नेताको रूपमा चयन गरिएको थियो। उनको नेतृत्वमा चीनमा एक शक्तिशाली अर्थव्यवस्था सिर्जना भयो । कम्युनिस्टहरूले सत्तामा आफ्नो पकड बलियो बनाए । चीनले विश्वशक्तिहरूको शीर्ष तालिकामा आफ्नो स्थान बनायो।
उनको कार्यकालमा सन् १९९७ मा बेलायती उपनिवेश शासनबाट मुक्त हङकङको शान्तिपूर्ण हस्तान्तरण र सन् २००१ मा विश्व व्यापार संगठनमा चीनको प्रवेशजस्ता महत्वपूर्ण कार्य भएका थिए। उनले चीनलाई आर्थिक शक्तिका रूपमा स्थापित गर्नुका साथै विश्व अर्थतन्त्रसँग जोडेका थिए । त्यस्तै सन् २००८ मा ओलम्पिक आयोजना गर्ने टुंगो पनि उनकै पालामा भएको थियो।
उनले ताइवानप्रति कट्टरपन्थी अडान लिँदै आन्तरिक असहमतिलाई दबाए। सन् १९९९ मा धार्मिक सम्प्रदाय फालुन गोङमाथि भएको दमनका कारण उनको आलोचना भएको थियो। उक्त घटनलाई चिनियाँ कम्युनिस्ट पार्टीका लागि खतराको रूपमा हेरिएको थियो।
जियाङ जेमिन अन्तिम पटक १ अक्टोबर २०१९ मा सार्वजनिक रुपमा देखिएका थिए । जेमिनको जन्म सांघाइको उत्तरपश्चिममा पर्ने प्राचीन याङ्जी नदीको किनारमा अवस्थित याङ्झोउ सहरमा सन् १९२६ को १७ अगस्टमा भएको थियो । जेमिनपछि चीनमा हु जिनताओले शासकीय जिम्मेवारी सम्हालेका थिए।