परराष्ट्रमा सहसचिवको पदपूर्ति हुनसकेन, एउटैको जिम्मा तीन डिभिजन - Chaitanya News
  • 2026-04-27
  • 13:11:09
  • सोमबार,बैशाख १४, २०८३
  • परराष्ट्रमा सहसचिवको पदपूर्ति हुनसकेन, एउटैको जिम्मा तीन डिभिजन

    परराष्ट्रमा सहसचिवको पदपूर्ति हुनसकेन, एउटैको जिम्मा तीन डिभिजन

    काठमाडौं- परराष्ट्र मन्त्रालयमा सहसचिवको पदपूर्ति हुननसक्दा कामकाजमा समस्या भइरहेको छ। खाली हुने सहसचिवको स्थानमा नयाँ पदपूर्ति नहुँदा एउटै सहसचिवले तीनओटा डिभिजनसम्म जिम्मेवारी सम्हालिरहेका छन्।

    अहिले एक सहसचिवले तीन डिभिजन र अन्य चार सहसचिवहरूले दुई/दुई ओटा डिभिजन चलाइरहेका परराष्ट्र स्रोतले जनाएको छ।

    सरकारले गत चैतमा राजदूत नियुक्त गर्दा मन्त्रालयका ८ जना सहसचिवहरू राजदूत भएर गएका थिए। त्यसपछि खाली रहेका डिभिजनहरूमा मन्त्रालयमै रहेका सहसचिवहरूले काम गरिरहेका छन्। जसले गर्दा उनीहरूलाई कामकाजमा निकै गाह्रो भइरहेको बताइएको छ।

    अहिले सहसचिव सुधीर भट्टराईले तीन ओटा डिभिजनको नेतृत्व गरिरहेका छन्। राष्ट्रपति कार्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध तथा अतिथिसत्कार डिभिजन हेर्दै आइरहेका भट्टराईलाई थप दक्षिण एसिया डिभिजन र शिष्टाचार (प्रोटोकल) डिभिजनको पनि जिम्मेवारी दिइएको छ। नेपालको लागि दक्षिण एसिया डिभिजन महत्त्वपूर्ण छ। भारतसहित दक्षिण एसियाली मुलुकहरूसँग यहि शाखाले हेर्ने गर्छ।

    यस्तै, मन्त्रालयकी प्रवक्त समेत रहेकी सहसचिव सेवा लम्सालले यूएन, अन्तर्राष्ट्रिय संस्थाहरू र अन्तर्राष्ट्रिय कानुन डिभिजन हेर्दै आएकी थिइन्। पछि उनमाथि यूरोप अमेरिका डिभिजन थपियो। पहिलो डिभिजनमै धेरै गृहकार्य र काम गर्ने स्थानमा फेरि यूरोप र शक्ति राष्ट्र अमेरिका समेत थपिदा उनलाई कामको बोझ थपिएको छ।

    सामान्य प्रशासन डिभिजन हेरेका सहसचिव घनश्याम लम्साललाई अर्को नयाँ नीति योजना, विकास कुटनीति र विदेशमा रहेका नेपाली मामिला डिभिजन पनि थप गरिएको छ।

    त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागका सहसचिव धनबहादुर ओलीले उक्त विभागमा महानिर्देशकको रुपमा काम गर्दै आएका थिए। तर मन्त्रालयले उनलाई थप जिम्मेवारीको रुपमा क्षेत्रीय संस्था डिभिजन पनि दियो। जसले गर्दा ओलीलाई कामको बोझ थपिएको छ।