काठमाडौं– चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन्।
चुनाव जितेपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन्। ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ,’ उनले भनेका छन्।
लामिछानेले अहिले कुनै विजय र्याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्याली गरिने जानकारी दिएका छन्। धन्यवाद र्यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन उनले मतदाताहरुलाई आग्रह गरेका छन्। उनले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताएका छन्।
‘भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर पठाउनुहोला,’ लामिछानेले लेखेका छन्, ‘माला, अबीर, खादामा हामीले गरेको खर्च प्रायः विदेश जान्छ। केही ल्याउनैपर्ने मन भए आफ्नै आँगन वा बाटोको एक थुंगा फूल भए मलाई पुग्छ।’