काठमाडौँ– नेपालमा मुद्रास्फीति ८.५० प्रतिशत रहेको केन्द्रीय बैँकले जनाएको छ। बैँकले जारी गरेको चालू आर्थिक वर्षको तीन महिनामा अवधिमा महंगी बढेर ८.५० प्रतिशतमा पुगेको हो। भाद्र महिनामा ८.६४ प्रतिशत रहेकामा असोजमा थोरै घटेर ८.५० प्रतिशत रहेको केन्द्रीय बैँकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२४ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यका १०.५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुहरुको ७.६८ प्रतिशत रहेको छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ असोज महिनामा यी क्षेत्रहरूमा क्रमशः ३.४८ प्रतिशत, ४.०१ प्रतिशत, ५.६८ प्रतिशत र ३.१२ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।
शोधानान्तर स्थिति
केन्द्रीय बैंकले जारी गरेको समीक्षा अवधिको तथ्यांकअनुसार घाटामा रहेको शोधानान्तर स्थितिमा बचत देखिएको छ। आर्थिक वर्ष २०७७–७८ असारदेखि शोधानान्तर स्थिति लगातार घाटामा थियो। शोधानान्तर घाटा बढ्दै गएपछि सरकारले आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नु पर्ने देखि १० वस्तुको आयात प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु।१२ अर्ब ४३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको छ।
चालू आर्थिक वर्षको पहिलो महिना शोधानान्तर स्थिति २२ अर्ब ६३ करोड रुपैयाँले घाटामा थियो। यस्तै, भदौमा समेत शोधनान्तर स्थिति २३ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो।