काठमाडौं– शीर्ष नेताहरुले चुनावी मनोनयन दर्ताका लागि कोही आफैं सहभागी छन्, कसैले वारेस पठाएका छन्।
आसन्न चुनावका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावी मनोनयनपत्र उनकी पत्नी आरजु राणाले दर्ता गराउँदैछिन्। कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी उनले पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको मनोनयनपत्र दाखिला गराउन हिजै शनिबार डडेलधुरा गएकी हुन्।
कांग्रेस डडेलधुराका उपसभापति डिल्ली जोशीले आज आइतबार दिउँसो २ बजे देउवाको मनोनयन हुने जानकारी दिए। ०४८ सालयता देउवा डडेलधुराबाट सांसद बन्दै आएका छन्।
एमाले अध्यक्ष केपी ओली आज दिउँसो २ बजे मनोनयन दर्ता गराउन झापा गइसकेका छन्। ओलीको सचिवालयका अनुसार उनले आफैं उपस्थित भएर उम्मेदवारी मनोनयन गराउने कार्यक्रम छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा २ बाट मनोनयन दाखिला गराउन यसअघि त्यहाँबाट चुनाव जित्दै आएका बाबुराम भट्टराईलाई साथै लगेर गएका छन्।
भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘गोरखा(२ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न संगै गोरखातिर लागियो। उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो। सबैको साथ र सहयोगको अपेक्षा १’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट गएर, अनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा गएर मनोनयन दर्ता गराउँदैछन्।