बागलुङको बागलुङ कालिका र शालिग्राम दर्शनका लागि भारतीय पर्यटक आउन थाले - Chaitanya News
  • 2026-04-19
  • 04:21:13
  • शनिबार,बैशाख ०५, २०८३
  • बागलुङको बागलुङ कालिका र शालिग्राम दर्शनका लागि भारतीय पर्यटक आउन थाले

    बागलुङको बागलुङ कालिका र शालिग्राम दर्शनका लागि भारतीय पर्यटक आउन थाले

    बागलुङ — बागलुङको बागलुङ कालिका र शालिग्राम संग्रहालयमा भारतीय पर्यटक पनि आउन थालेका छन् । दसैं लागेपछि नेपाली भक्तजनको भीड लागिरहेका बेला भारतबाट आउने श्रद्धालुसमेत बढेका हुन् ।

    मुक्तिनाथ पुगेर फर्किएकाहरू कालिका र शालिग्रामको दर्शन गर्न आउन थालेका हुन् । भारतीय भक्तजनहरू बढीमा १० दिनसम्मको भ्रमण प्याकेज बनाएर आउने गरेका छन् । १० दिनमा पशुपतिनाथ र मुक्तिनाथमा पूजा गरेपछि बागलुङ कालिका र शालिग्राम संग्रहालय उनीहरूको रोजाइमा परेको हो । दसैंका बेला कालिकामा सयौं भक्तजन आउने गर्छन् । उनीहरुले पनि शालीग्राम संग्रहालयको खोजी गर्न थालेका छन् ।

    मुक्तिनाथ पुग्ने हरेक पर्यटक र भक्तजन भित्र्याउने गरी बनेका संरचना र धार्मिक महत्त्वका स्थलको प्रचारपछि दैनिक भीड लाग्न थालेको शालिग्राम संग्राहलयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । ‘हामीले पर्यटक भनेका छैनौं। भक्तजनहरू धेरै नै आउनुभएको छ,’ उनले भने, ‘आएका भक्तजनलाई सके एक रात राख्ने, नसके प्रसाद वितरण गरेर मात्रै बिदाइ गर्छौं।’ बागलुङ नगरपालिका ४ को कुडुले फेदीमा तीन वर्षअघिनै झन्डै २ करोड रुपैयाँ लागतमा संग्रहालय बनेको छ।

    मन्दिर र अन्य संरचनासमेत गर्दा १० करोड रुपैयाँभन्दा बढी लगानी भएको छ। यहाँ भारतीय पर्यटकले मन पराउने प्रकारका मन्दिर, टुँडाल र संरचनासमेत बनेका छन्। संग्रहालयमा बाघको मुखाकृति पनि बनाइएको छ। उक्त चित्रले धेरैको ध्यान तानेको छ।

    ‘बागलुङको पहिचान भएका केही तथ्यमध्ये बाघको पनि इतिहास देखियो, त्यसैले हामीले पनि मुखाकृति बनाएका हौं,’ ऋषि प्रपन्नाचार्यले भने, ‘यो साहसको प्रतिक पनि हो।’ यहाँ रंगविंंकटेश्वर मुक्तिनारायण मन्दिरसहित मुक्तिनाथ वेद विद्याश्रम पाठशालासमेत सञ्चालनमा छ। धार्मिकयात्रीले यहाँ आएर सबै क्षेत्रको अध्ययन र दर्शनसमेत गर्न पाउने उनले बताए।

    भारतको मायापुरबाट आएका माधव हरिदासले संग्राहलय र कालिका मन्दिर घुम्दा शान्ति मिलेको बताए। उनले संसारभर घुमेर पनि एक लाख शालिग्राम एकै स्थानमा दर्शन गर्न नपाएको भन्दै यो अवसर यहाँ आएर मिलेको बताए।