तीन महिनाको तलबले असहाय बालबालिकालाई कपडा बाँड्दै धनगढीका मेयर गोपाल हमाल - Chaitanya News
  • 2026-04-18
  • 23:40:41
  • शनिबार,बैशाख ०५, २०८३
  • तीन महिनाको तलबले असहाय बालबालिकालाई कपडा बाँड्दै धनगढीका मेयर गोपाल हमाल

    तीन महिनाको तलबले असहाय बालबालिकालाई कपडा बाँड्दै धनगढीका मेयर गोपाल हमाल

    धनगढी— धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूले पाउँदै आएको पारिश्रमिक सुविधावापतको रकम नगर क्षेत्रका विभिन्न असहाय संरक्षण सस्थाहरूलाई वितरण गर्दै आएका छन्।

    यसै क्रममा उनले दसैंमा आफूले पाउने तीन महिनाको पारिश्रमिक रकम २ लाख ६७ हजार ८ सय रुपैयाँसमेत विभिन्न संस्थाहरूको संरक्षणमा रहेका २६९ जना बालबालिका तथा असहायहरूलाई पोसाक किन्नका लागि उपलब्ध गराउने भएका छन्।

    मेयर हमालले दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितहरू, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपांग समाजका ५ जना र पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिविहीन विद्यार्थीलाई पोसाक किन्न खर्च गरिने बताएका हुन्।

    चुनावका बेला आफू निर्वाचित भए उपमहानगरबाट कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका मेयर हमालले भने‚ ‘दसैंमा मिठो–मसिनो र एकसरो नयाँ लुुगा लगाउन पाए हुुन्थ्यो भन्ने रहर नेपालीहरू सबैमा हुुन्छ। बालबालिकाहरूमा त अझ धेरै रहर हुन्छ। त्यही भएर यो पटक तीन महिनाको पारिश्रमिक रकमबाट बालबालिकालगायत असहायहरूलाई कपडा किनिदिने विचार गरेको हुुँ।’

    आफ्नो नाममा उपमहानगरबाट ७९ हजार ६ सयका दरले साउन, भदौ र असोजको पारिश्रमिक र दसैंको चाडपर्वबापतको २९ हजार रुपैयाँ प्राप्त भएको उनको भनाइ छ।

    यस्तै उनले नगर विकास समितिको अध्यक्षबापतको सुविधा रकम कटौती गर्ने निर्णय पनि गरेका छन्। हमालले नगर विकासबाट ४० लाख बजेट वृक्षरोपणमा खर्च गर्न लागेको बताए।