काठमाडौं– टिकट वितरणमा नेपाली कांग्रेसभित्र देखिएको विवादलाई समाधानका लागि छलफल भइरहेको छ। शेखर–गगन (शेखर कोइराला–गगन थापा) समूहले पार्टीको टिकट वितरणमा ४० प्रतिशत हिस्सा चाहिने भन्दै खबरदारी अभियान चलाइरहेका छन्।
यही दबाबपछि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा केही लचक देखिएका छन्। समानुपातिक तर्फको बन्दसूची सच्याउनेदेखि लिएर प्रत्यक्षतर्फको टिकट बाँडफाँटमा पनि भागबण्डा दिन देउवा तयार भएका हुन्।
स्रोतका अनुसार शेख–गगन समूहलाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ३०–३० प्रतिशत हिस्सा दिन उनी तयार भएका छन्। यद्यपि सहमति जुटाउन कोइरालासहितको कांग्रेस पदाधिकारीहरूको बैठक हिजोदेखि बसिरहेको छ।
कांग्रेसले सत्तारूढ गठबन्धन दलबीचको भागबण्डामा ८५ सीट पाएको छ। यसबारे अन्तिम सहमति भने भइसकेको छैन। देउवाले शेखर पक्षलाई दिने भनेको ३० प्रतिशतको गणना टिकट वितरणमा पनि यही आँकडाका आधारमा तय हुनेछ।
जसअनुसार ३० प्रतिशत मान्ने हो भने प्रतिनिधिसभाका २५ सीट शेखर–गगन समूहले पाउने देखिन्छ।
जसमध्ये १२ सीट शेखर–गगन समूहले पाउने लगभग निश्चित नै छ। त्यसबाहेक थप १३ सीटमा शेखर–गगन समूहका नेताहरूले उम्मेदवारी पाउनेछन्।
पक्कापक्की १२ सीट र उम्मेदवार
शेखर–गगन समूहका नेताहरूले पाउने पक्कापक्की भएका क्षेत्रहरूमा मोरङका ३ क्षेत्र छन्। जसमा मोरङ(१ मा जिल्ला सभापति डिकबहादुर लिम्बु फेरि उम्मेदवार बन्ने देखिएका छन्। उनी अघिल्लो पटक एमालेका घनश्याम खतिवडासँग पराजित भएका थिए।
यस्तै मोरङ–३ मा मेडिकल व्यवसायी सुनिल शर्मालाई शेखर समूहले उम्मेदवार बनाउने देखिन्छ। अघिल्लो पटक एमालेका भानुभक्त ढकालसँग पराजित भएका उनी यसपटक यहाँबाट एक्लै सिफारिस भएका छन्।
यस्तै मोरङ–६ शेखर कोइराला आफै उम्मेदवार बन्दैछन्। उनी अघिल्लो पटक एमालेका लालबाबु पण्डितसँग पराजित भएका थिए।
उता मधेस प्रदेशमा सप्तरी–४ तेजुलाल चौधरी निश्चित जस्तै छन्। उनी अघिल्लो पटकका निर्वाचित सांसद हुन्। यस्तै महोत्तरी(२ अघिल्लो पटक पराजित किरण यादव फेरि उम्मेदवार बन्दैछिन्।
वागमती प्रदेशबाट काठमाडौं–४ मा गगन थापा यो समूहबाट निश्चित रहेका एकमात्र उम्मेदवार हुन्।
गण्डकीमा स्याङ्जा–२ बाट उपसभापति धनराज गुरुङ यसपटक उम्मेदवार बन्ने देखिएका छन्। पूर्वउपसभापति गोपालमान श्रेष्ठ समानुपातिकमा परेपछि गुरुङको उम्मेदवारी यहाँ निश्चित भएको छ।
यस्तै लुम्बिनी प्रदेशमा गुल्मी(१ बाट चन्द्र भण्डारी र वर्दिया–१ बाट सञ्जय गौतम उम्मेदवार बन्नेछन्। तर, गौतमलाई भने उनकै समूहमा रहेका नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्माले रोक्ने सम्भावना छ। शेखर–गगन समूहमा गौतमभन्दा शर्मा बढी निकट रहेको मानिन्छ।
कर्णाली प्रदेशको सुर्खेत–२ मा हृदयराम थानी उम्मेदवार बन्नेछन् भने सुदूरपश्चिम प्रदेशमा दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र बाजुरामा पार्टी सहमहामन्त्री बद्री पाण्डे उम्मेदवार बन्ने निश्चित छ।
अनिश्चित १ तर, पाउनसक्ने उम्मेदवार
आन्तरिक भागबण्डामा ३० प्रतिशत नै भएपनि थप १३ सीट शेखर(गगन समूहले पाउने देखिन्छ। जसका लाागि १५ सीटमा यो समूहका नेताको दाबी छ।
प्रदेश–१ को मोरङ(२ डा। मिनेन्द्र रिजालले बलियो दाबी पेस गरिरहेका छन्। उनी अघिल्लो पटक यही क्षेत्रबाट निर्वाचित सांसद हुन्। यो क्षेत्रमा अहिले गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइरालाले दाबी गरेका कारण रिजाललाई कठिनाइ भइरहेको छ।
उता सुनसरी–२ मा केन्द्रीय सदस्य राजीव कोइरालाले दाबी गरिरहेका छन्। उनका लागि बाधक २०७४ मा निर्वाचित सांसद सीताराम मेहता र नेविसंघका पूर्व अध्यक्ष राजीव ढुंगाना देखिएका छन्। कोइराला यसअघि सोही क्षेत्रको प्रदेशसभा सीटमा जितेका थिए।
मधेस प्रदेशमा धनुषा–२ मा पूर्वमन्त्री रामकृष्ण यादवको दाबी छ। उनी शेखर(गगन समूहबाट सहमहामन्त्रीका उम्मेदवार थिए। यद्यपि यो क्षेत्र नेकपा एस र जसपाको पनि दाबी कायमै छ। सिरहामा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले पनि दाबी गरिरहेका छन्। यहाँ क्षेत्र नम्बर १ र २ कांग्रेसको भागमा परेको छ।
यस्तै सर्लाही–४ मा अघिल्लो पटक निर्वाचित सांसद अमरेशकुमार सिंहलाई पार्टीका तल्ला समितिहरूले नाम नै सिफारिस गरेको छैन्। यद्यपि यो समूहले सिंहलाई नै त्यहाँ उम्मेदवार बनाउनुपर्ने माग गर्दै आएको छ। कतिपयले सोही क्षेत्रमा उम्मेदवार बनाउनेगरी लोसपाकी चन्दा चौधरीलाई कांग्रेस प्रवेश गराइएको बताएका छन्।
वागमती प्रदेशबाट काभ्रे–२ मा मधु आचार्यको दाबी छ। यहाँ अघिल्लो पटक उनी एमालेका गोकुल बाँस्कोटासँग पराजित भएका थिए। तर, कृष्ण सिटौलाले सो क्षेत्रमा शिव हुमागाईलाई टिकट दिलाउन खोजेका छन्।
नुवाकोट–२ मा अर्जुननरसिंह केसीको जबरजस्त दाबी छ। अघिल्लो पटक एमालेका नारायण खतिवडासँग पराजित भएका उनी फेरि यसपटक उम्मेदवार हुने चाहनामा छन्। यो क्षेत्रमा संस्थापनपक्षीय बहादुरसिंह लामाको पनि बलियो दाबी छ।
यस्तै सिन्धुपाल्चोक–२ मा शेखर(गगन पक्षीय विकास लामा, गुण्डागर्दी र हत्या अभियोगमा जेल परेर निस्केका राजु गोर्खाली र वंशलाल तामाङको दाबी छ। तर, मोहन बस्नेत २ मा आउन चाहे उनैले पाउनेछन्।
उता धादिङ–२ मा यो पक्षका जिल्ला सभापति रामनाथ अधिकारी र रमेश धमलाको दाबी छ। यहाँ संस्थापन पक्षीय दिलमान पाख्रिनको सम्भावना बलियो छ। उनी अघिल्लो पटक पराजित उम्मेदवार पनि हुन्।
गण्डकी प्रदेशका थप ३ क्षेत्रमा शेखर(गगन पक्षीय उम्मेदवारको बलियो दाबी छ। जसमध्ये गोरखा–१ मा राजेन्द्र बजगाईँको दाबी छ। यहाँ संस्थापनपक्षीय केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले दाबी गरे पनि बजगाईँको सम्भावना बढी छ।
यस्तै कास्की–१ मा शेखर(गगन समूहका यज्ञबहादुर थापाका लागि टिकट माग गरिएको छ। यद्यपि उनको सम्भावना कम देखिन्छ। यहाँ पूर्वजिल्ला सभापति कृष्णबहादुर केसी, केन्द्रीय सदस्य गुरु बराल, जिल्ला सभापति किशोरदत्त बराललाई मूख्य दाबेदारका रुपमा हेरिएको छ। तर, सो क्षेत्र नै माओवादीले पाउने सम्भावना पनि छ।
यस्तै पर्वतमा शेखर–गगन पक्षीय ऋषिकेश तिवारीको दाबी छ। यहाँ अघिल्लो पटक अहिलेका प्रदेश सभापति अर्जुनप्रसाद जोशी पराजित भएका थिए।
लुम्बिनी प्रदेशको रुपन्देही–४ मा प्रमोद यादवको दाबी छ। उनी अघिल्लो पटक निर्वाचित सांसद पनि हुन्। यहाँ उनको एकल सिफारिस भएको छ।