काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावको मुखमा द्वारिकलाल चौधरी माओवादीमा प्रवेश गर्नु प्रतिगामीहरूको लागि चोटिलो प्रहार भएको बताएका छन्। सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर चौधरीलाई आज बिहान माओवादीमा स्वागत गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
उनले एमालेको प्रतिनिधित्व गरिसकेका र जिम्मेवारी सम्हालेका चौधरी माओवादी प्रवेश गर्नुको विषेश अर्थ भएको बताउँदै प्रतिगामीहरूको लागि चोटिलो प्रहार भएको र चौधरीको यो फैसला एकदम सही भएको बताए।
‘चुनावको संघारमा देशमा प्रतिगामीहरूले पटकपटक टाउको उठाउन खोजिरहेको बेला चोटिलो प्रहार गर्दै परिवर्तन र क्रान्ति र जनताको पक्षमा तपाइँले सही फैसला लिनु भएको छ। अब नेपालमा माओवादी केन्द्रले मात्र परिवर्तन र जनताको हितमा काम गर्न सक्छ भनेर एमालेको प्रतिनिधित्व गरिसकेका र जिम्मेवारी सम्हालेको व्यक्ति माओवादीमा प्रवेश गर्नुको विषेश अर्थ अर्कै छ जस्तो लाग्छ,’ प्रचण्डले भने।
इटहरी–१७ घर भएका चौधरी ०४१ सालदेखि अनेरास्ववियुमा संगठित भएर राजनीतिमा लागेका थिए। ०७२ मा एमाले सुनसरी जिल्ला अध्यक्ष भएका उनी ०७४ को स्थानीय तह निर्वाचनमा इटहरी उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए।