चोलेन्द्रले ‘ग्रेसफुल एक्जिट’ माग्दै फागुन २७ मा छाड्ने प्रस्ताव गरेको न्यायाधीश सिन्हाको खुलासा - Chaitanya News
  • 2026-04-18
  • 23:43:12
  • शनिबार,बैशाख ०५, २०८३
  • चोलेन्द्रले ‘ग्रेसफुल एक्जिट’ माग्दै फागुन २७ मा छाड्ने प्रस्ताव गरेको न्यायाधीश सिन्हाको खुलासा

    चोलेन्द्रले ‘ग्रेसफुल एक्जिट’ माग्दै फागुन २७ मा छाड्ने प्रस्ताव गरेको न्यायाधीश सिन्हाको खुलासा

    काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले चोलेन्द्रले ग्रेसफुल एक्जिट माग्दै फागुन २७ मा छाड्ने प्रस्ताव गरेको खुलासा गरेका छन्। न्यायाधीश सिन्हाले चोलेन्द्रले ग्रेसफुल एक्जिट माग्दै बाहिरिने बताएपनि विश्वासको सङ्कटका कारण त्यसो हुन नसकेको बताएका हुन्।

    आफूहरूले बेञ्च बहिष्कार गर्नुहुँदैन भनेर पहल गरेको र चोलेन्द्रले पनि ग्रेसफुल एक्जिटको व्यवस्था गरे फागुन २७ गते राजीनामा दिने सङ्केत गरेको खुलाए। न्यायाधीश सिन्हाले भने, ‘ उहाँले भन्नुभएको के हो भने ‘मैले को सँग यस्तो कुरा गरेँ भनेर म तपाईंलाई भन्दिन तर केही नेताहरूकै अगाडि समेत म समय अगावै छाड्छु भनेर भनेको हो। र, मैले भनेको के हो भने मैले पाएको बोनस अवधि जुन छ, त्यो बोनस अवधि म छाडिदिन्छु भनेको हो।’ बोनस अवधि भनेको चाहिँ दीपकराज जोशी श्रीमानको जुन अवधि थियो, त्यो अवधि छाडिदिन्छु भनेको हो। त्यो भनेको करिब ७–८ महिना हुन्थ्यो होला। त्यो कुरा उहाँले हामीसँग पनि भन्नुभएको हो। उहाँले मलाई सम्मानजनक बिदाइ अर्थात् ग्रेसफुल एक्जिट हुनुपर्‍यो भनेर भन्नुभएको हो। तर त्यहाँ विश्वासको संकट पैदा भयो। कसैले कसैलाई विश्वास गर्न सक्ने अवस्था रहेन । चोलेन्द्रलाई विश्वास गर्ने पक्षमा कोही देखिएनन्। ग्रेसफुल एक्जिटको बारेमा पनि छलफल गर्न सकिन्थ्यो, तर त्यस विषयमा कहिल्यै छलफल नै हुन पाएन। कोही पनि छलफलमा जानै चाहेनन्।

    न्यायाधीश सिन्हाले भने, ‘जुन संस्था स्वतन्त्ररुपमा बस्नुपर्थ्यो त्यहाँ धेरै राजनीतिको प्रवेश भयो। राजनीतिमा ठिक र बेठिक भन्ने हुँदैन रहेछ। कसैलाई घचेटेर निकाल्छु भन्ने एउटा माहौल बन्यो भने अर्कोले म छाड्दिनँ भनेर भनिदिए। यी सबै कुराहरू न्यायपालिकाभित्रको आचरणसँग मिल्ने कुरा होइन। म निकाल्छु भन्ने कुरा पनि न्यायपालिकाको आचरणभित्रको कुरा होइन, म जाँदै जान्न भन्ने कुरालाई पनि सहजरुपमा लिन सकिँदैन। यहाँ त पुरै राजनीतिको प्रभाव रह्यो।’