निजी एयरलाइन्सका हवाई जहाजले नेताकाहरूको पहुँचमा भएका व्यक्तिहरूले मात्र टिकट दिए - Chaitanya News
  • 2026-04-18
  • 18:11:04
  • शनिबार,बैशाख ०५, २०८३
  • निजी एयरलाइन्सका हवाई जहाजले नेताकाहरूको पहुँचमा भएका व्यक्तिहरूले मात्र टिकट दिए

    निजी एयरलाइन्सका हवाई जहाजले नेताकाहरूको पहुँचमा भएका व्यक्तिहरूले मात्र टिकट दिए

    काठमाडौँ– राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लाहरूमा हवाई जहाजको टिकट नपाउँदा यात्रुहरू अलपत्र परेका छन्।

    नेपालगञ्ज विमानस्थलबाट हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लाहरूमा जहाजको टिकट नपाउँदा दसैँ, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिसहरू अलपत्र परेका हुन्। जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाँच्ने भन्ने चिन्ता थपिएको यात्रुहरूको गुनासो छ।

    निजी एयरलाइन्सका हवाई जहाजले आफूखुसी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेहरूलाई टिकट दिने गरेको उनीहरू बताउँछन्। नेपाल एयरलाइन्सले हाल नेपालगञ्जबाट हप्तामा दुई दिन मात्र दुर्गम पहाडी जिल्लामा उडान भर्दै आएको छ। यसैगरी तारा एयरको चार जहाजमध्ये एउटा जहाजले मात्र उडान गर्दै आएको, सीता एयरले माउन्टेन उडान गर्दै आएको र समिट एयरले मात्र उडान गर्दै आएकाले यो समस्या आएको उनीहरू बताउँछन्। निजी विमान कम्पनीहरूले हिमाली तथा पहाडी जिल्लामा उडानमा कमी ल्याएपछि हवाई यात्रुहरूलाई समस्या भएको हो।

    नियमित उडानका लागि सम्बन्धित निकायले नियमन गर्न जरुरी देखिएको सर्वसाधारणहरू बताउँछन्। आम सर्वसाधारणको गुनासो कसैले नसुन्ने र काठमाडौँबाट नेताहरूको पहुँचमा भएका व्यक्तिहरूले मात्रै जहाजको यात्रा गर्न पाइरहेको गुनासो गर्छन्, डोल्पाका चन्द्रखड बुढा। उनले नेताहरूले आफ्नो पहुँचमा भएकालाई फोन गरेर पठाउने गरेको तर आम सर्वसाधारण जनताहरू भने नेपालगञ्जमै हप्तौं बसिरहनुपरेको बताए। बुढाले बिरामी मान्छेहरूलाई समेत घर फर्किनका लागि नदिएको गुनासो गरे। उनले यदी आम सर्वसाधारण जनताको माग सम्बोधन नगरे जहाज अवतरण गर्न नदिने चेतावनी दिए।

    उनले बिरामी लिएर काठमाडौँबाट गएको तर १२ दिन बितिसक्दा समेत टिकट नपाएको बताए । त्यस्तै हुम्लाका धनभक्त बुढाले विकट जिल्लामा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उडान गर्न आनाकानी गरिरहेको सुनाए। उनले आफू दुई हप्तासम्म होटलमा बस्दासमेत टिकट नपाएको गुनासो गरे।

    त्यस्तै समिट एयरका शाखा प्रमुख, दीपक शाहले समिट एयरले नियमित उडान गरिरहेको बताए । हुम्ला,जुम्ला, बाजुरा, मुगु, लगायतका जिल्लामा दैनिक ५ वटा उडान भरिरहेको जानकारी दिए। उनले तारा, नेपाल, सीता एयरलाइन्सले नियमित उडान नभर्दा समस्या आइरहेको बताए। उनले दसैँको बेलामा यात्रुहरूको चाप बढेपछि विमानहरू पर्याप्त नभएको स्वीकार गरे।

    त्यस्तै नेपालगञ्ज नागरिक उड्डयन कार्यालय राँझाका प्रमुख सुरेशप्रसाद खनालले नेपालगञ्ज बेस बनाएर उडान भर्दै आएको तारा एयरले केही दिन अघिदेखि पोखरा बेस बनाएर माउन्टेन फ्लाइट गर्न थालेपछि दुर्गम जिल्लामा हवाई उडानमा कमी आएको बताए। उनले दसैँको बेलामा यात्रुहरू बढ्दा उडानको चाप बढेको बताए। अहिले समिट एयरले दुर्गम जिल्लाका केही यात्रुहरूलाई सेवा दिइरहेको उनले जिकिर गरे। यात्रुहरूको चाप बढिरहेका कारण अर्को जहाज नथपिकन समस्या समाधान नहुने बताए। उनका अनुसार समिट एयरले पश्चिम नेपालका हुम्ला, डोल्पा, जुम्ला, मुगु, बाजुरा, साँफेबगर, बझाङ लगायतका जिल्लाहरूमा हरेक दिन ५ उडान गर्दै आएको छ।