दसैंका कारण पेट्रोलियम पदार्थको खपत बढ्यो - Chaitanya News
  • 2026-04-18
  • 17:57:59
  • शनिबार,बैशाख ०५, २०८३
  • दसैंका कारण पेट्रोलियम पदार्थको खपत बढ्यो

    दसैंका कारण पेट्रोलियम पदार्थको खपत बढ्यो

    काठमाडौँ — दसैंका कारण पेट्रोलियम पदार्थको खपत बढेको छ। नेपाल आयल निगमका अनुसार हालका दिनमा औसत पेट्रोलको खपत दैनिक ३ हजार किलोलिटर पुगेको छ भने डिजेलको खपत ३ हजार ७ सय किलोलिटर हाराहारी पुगेको छ। गत बिहीबार देशभर ३ हजार १०४ किलोलिटर पेट्रोल तथा ३ हजार ७५८ किलोलिटर डिजेल खपत भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

    दसैंअघिको तुलनामा हाल पेट्रोल र डिजेलको खपत बढेको उनले बताए। निगमका अनुसार दसैं सुरु हुनुभन्दा अघि औसत दैनिक २ हजार २ सय किलोलिटर पेट्रोल तथा ३ हजार ५ सय किलोलिटर डिजेल खपत हुने गरेको थियो।

    दसैंका बेला सडकमा सार्वजनिक तथा निजी सवारीसाधनको चाप बढ्ने भएकाले पेट्रोल र डिजेलको खपत बढ्नु स्वभाविक रहेको उपाध्यायले बताए। ‘यो बेला सवारीसाधनको आवागमन बढी हुने गर्छ, त्यसकारण तुलनात्मक रुपमा पेट्रोलियम पदार्थको खपत बढेको हो’ उनले भने। दसैं मनाउनका लागि काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रबाट गाउँघरमा जाने यात्रुको संख्या बढी हुने भएकाले सवारीसाधन संचालन पनि बढी हुने हुँदा पेट्रोलियम पदार्थको खपत बढ्छ।

    साउन महिनामा देशभर कुल ५१ हजार ६३० किलोलिटर पेट्रोल र ७६ हजार ४० किलोलिटर डिजेल खपत भएकोमा असोज १ देखि ११ गतेसम्म मात्रै कुल २० हजार ८३२ किलोलिटर पेट्रोल र ३२ हजार ८६२ किलोलिटर डिजेल खपत भएको निगमको तथ्यांक छ।