टीकाको भोलिपल्ट नेपाल आइपुग्छु, र कानूनी लडाइँ लड्छु : सन्दीप लामिछाने - Chaitanya News
  • 2026-04-18
  • 18:04:40
  • शनिबार,बैशाख ०५, २०८३
  • टीकाको भोलिपल्ट नेपाल आइपुग्छु, र कानूनी लडाइँ लड्छु : सन्दीप लामिछाने

    टीकाको भोलिपल्ट नेपाल आइपुग्छु, र कानूनी लडाइँ लड्छु : सन्दीप लामिछाने

    काठमाडौं–  नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने दशैंको टीकाको भोलिपल्ट काठमाडौं आउने भएका छन्। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका हुन्।

    ठुलो आशा र हिम्मतका साथ, अक्टोबर ६ मा म नेपाल पुग्ने पक्का भएको जानकारी गराउँदछु। अनि मविरुद्ध लागेको झुटो मुद्दाको कानुनी लडाई लड्नेछु, लामिछानेले फेसबुकमा लेखेका छन्।

    उनी पक्राउ परेका हुन् या आत्मसमर्पणका लागि नेपाल आउँदैछन् भन्ने बारे केही खुलाइएको छैन। प्रहरीले पनि यसबारे कुनै सूचना जारी गरेको छैन।

    नाबालिग किशोरी बलात्कारको आरोप लागेका लामिछाने विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरिसकेको छ। बलात्कारको आरोप लागेपछि विदेशबाटै बेपत्ता भएका उनले सोसल मिडियाबाट राष्ट्रवादी कार्डु प्रयोग गर्दै नेपाल आउने जानकारी दिएका थिए। नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप विरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले नोटिस जारी गरेको हो।

    पाँच दिनअघि मात्र उनले आफूलाई तनावका कारण आइसोलेसनमा राखेको बताएका थिए। मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन। यी सबै कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु, उनले भनेका थिए।

    यसअघि पनि सन्दीपले चाँडै नेपाल फर्कने बताएका थिए। त्यसपछि एकाएक सम्पर्कबिहीन भएका थिए उनी। घटना बाहिरिँदा सन्दीप नेपाल बाहिर थिए। उनले आफूविरुद्ध जाहेरी परेको भदौ २२ गते थाहा पाएको हिजोको फेसबुक पोस्टमा उल्लेख गरेका छन्। झुटा रुपमा एकपक्षीय रुपमा चरित्रमा आँच आउनेगरी समाचार सम्प्रेषण भएको पनि सन्दीपले आरोप लगाएका थिए।

    एक नाबालिग किशोरी ९१७ वर्षीया० माथि करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक संकटमा पुगेका हुन्। उजुरीलगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो।

    भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटेलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटेलमा लगेर लामिछानेले किशोरीलाई पटक पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटेलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।