काठमाडौं– अमेरिकाको वाणिज्य मन्त्रालयको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओएफएसी) ले लाखौं डलरको इरानी पेट्रोकेमिकल तथा पेट्रोलियम उत्पादन बिक्री गरेको आरोपमा अन्तर्राष्ट्रिय कम्पनीहरुको एक समूहमा प्रतिबन्ध लगाएको छ।
यी कम्पनीको सूचीमा भारतीय कम्पनी पनि सामेल छन्। यो समूहले दक्षिण र पूर्वी एसियामा इरानी पेट्रोलियम पदार्थको बिक्री गरिरहेको अमेरिकाले बताएको छ।
शुक्रबार अघि सारिएको यो कदमसँगै इरानी बिचौलिया र यूएई, हङकङ र भारतका केही प्रमुख कम्पनीमाथि प्रतिबन्ध लागेको छ। त्यस्तै चीनका दुई कम्पनीमाथि पनि इरानी पेट्रोकेमिकलको व्यापारमा सामेल भएको आरोपमा प्रतिबन्ध लगाइएको छ।
ओएफएसीका एक अधिकारी ब्रायन ई नेल्सनले भने, ‘अमेरिका इरानको गैरकानुनी तेल र पेट्रोकेमिकल उत्पादनको बिक्री गम्भीरतापूर्वक रोक्न प्रतिबद्ध छ।’ उनले भने, ‘जहिलेसम्म इरानले संयुक्त आणविक सम्झौता पूर्णरुपमा पालना गर्न अस्वीकार गर्छ, अमेरिकाले इरानमाथिको प्रतिबन्ध जारी राख्नेछ।’
सन् २०१९ सम्म भारत इरानको सबैभन्दा ठूलो ऊर्जा आपूर्तिकर्ता थियो। अमेरिकी प्रतिबन्धको डरले भारतले इरानबाट आयात हुने कच्चा तेल र अन्य सामग्रीको आयातमा पनि रोक लगाएको थियो।