काठमाडौं १ बाट राप्रपाको उम्मेदवार बन्ने रवीन्द्र मिश्रको औपचारिक घोषणा - Chaitanya News
  • 2026-06-03
  • 01:00:40
  • मंगलबार,जेठ १९, २०८३
  • काठमाडौं १ बाट राप्रपाको उम्मेदवार बन्ने रवीन्द्र मिश्रको औपचारिक घोषणा

    काठमाडौं १ बाट राप्रपाको उम्मेदवार बन्ने रवीन्द्र मिश्रको औपचारिक घोषणा

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। आज आयोजित कार्यक्रममा उनले पार्टीको सहमति लिएर आफूले उम्मेदवारी तय गरेको बताए।

    दुई दिनअघि मात्रै वरिष्ठ उपाध्यक्ष भएर राप्रपा प्रवेश गरेका मिश्रले पहिल्यैबाट यस क्षेत्रमा लड्ने तयारी गरेका थिए। राप्रपा नेतृत्वले पनि सहमति जनाएपछि उनले आज औपचारिक घोषणा गरेका हुन्। घोषणा कार्यक्रममा बोल्दै उनले आफूलाई जनताले संसद भवन पठाएमा गर्व गर्न सक्ने सशक्त भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरे।

    मिश्रले भने, ‘म एउटा सशक्त सांसदको रुपमा संसदभित्र तपाईंहरुको आवाज बुलन्द गर्नेछु।’ उनले आफूले झूटो आश्वासन दिएर भोट नमाग्ने बताए। विगत १५ वर्षदेखि यस क्षेत्रको प्रतिनिधित्व गरिरहेका नेताले संसदमा के भूमिका निभाए भन्दै उनले प्रश्न गरे।

    ‘यो १५ वर्षमा कति दिन संसद चल्यो र तपाईंहरुले पठाउनुभएको सांसद कति दिन संसदमा उपस्थित भएर तपाईंहरुको आवाज उठाउनुभयो? मिश्रले भने।मिश्रले अघिल्लो संघीय निर्वाचनमा विवेकशील(साझा पार्टीबाट यही क्षेत्रमा उम्मेदवारी दिएका थिए। कांग्रेसका प्रकाशमान सिंहसँग उनी झिनो मतले पराजित भएका थिए।