एमालेमा १० बुँदेलाई समस्याः ज्ञवाली र अष्टलक्ष्मी शाक्य चुनाव नलड्ने, भूषाललाई टिकट नदिइने - Chaitanya News
  • 2026-04-18
  • 13:01:12
  • शनिबार,बैशाख ०५, २०८३
  • एमालेमा १० बुँदेलाई समस्याः ज्ञवाली र अष्टलक्ष्मी शाक्य चुनाव नलड्ने, भूषाललाई टिकट नदिइने

    एमालेमा १० बुँदेलाई समस्याः ज्ञवाली र अष्टलक्ष्मी शाक्य चुनाव नलड्ने, भूषाललाई टिकट नदिइने

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउने क्रममा केपी ओलीसँग १० बुँदे फरक मत राखी एमालेमै रहेका नेताहरुलाई टिकटमा समस्या परेको छ। पार्टी उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले चुनाव नलड्ने घोषणा गरिसकेको अवस्थामा प्रत्यक्षतर्फको उम्मेदवारी लिने नेताहरु समस्यामा परेका हुन्।

    ओलीसँग अध्यक्षमा भिडेका अछामका भीम रावल त्यस्तै गुल्मीका गोकर्ण विष्ट र रुपन्देहीका घनश्याम भूषाल समस्यामा परेका हुन्। रघुजी पन्तलाई समानुपातिकमा राखिएको छ भने योगेश भट्टराईलाई ताप्लेजुङबाट टिकट दिइने निश्चित प्रायः छ। त्यसैगरी भीम आचार्य पनि समस्यामा परेका छन्। उनले टिकट नपाउने अवस्था सिर्जना भएको छ।

    एमालेले १ सय ६५ वटै निर्वाचन क्षेत्रको उम्मेदवारी टुंग्याउदै गर्दा एमाले सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य घनश्याम भूषाललाई प्राविधक समस्या परेको हो। साथै एमालेमा नेता रावललाई पनि अछामबाट एकल उम्मेदवार सिफारिस भएपछि पार्टी केन्द्रमा टिकट ‘फिक्स’ गर्न समस्या देखिएको छ।

    एमाले सचिव विष्टलाई गुल्मी २ बाट काठमाडौं ल्याउने र भूषाललाई टिकट नै नदिई राख्ने तयारी भएको एमाले स्रोतले दावी छ। तर विष्टले भने गुल्मी २ छाड्न मानेका छैनन्। उनको सचिवालयले गुल्मी २ मा विष्ट सांसद भएपछि के के काम भए भनेर प्रचारबाजी गरिरहेको छ। ‘विष्टलाई काठमाडौमा पनि राम्रो भएका कारण यतै ल्याउने कि भन्ने हो’, काठमाडौंका एक एमाले नेताले भने। तर भूषाललाई भने टिकट नदिने करिब करिब पक्का भएको छ। एमाले स्थायी कमिटी सदस्य समेत रहेका भूषालले पार्टीमा नयाँ पिढीलाई स्थान दिनुपर्ने बताउँदै आएका थिए। उनले एमालेमा पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीमा अघि सारेको पनि रुचाएका थिएन। त्यसकारण पनि यसपटक उनलाई टिकट दिने संभावना निकै कम रहेको स्रोतको दावी छ।

    आजको सचिवालय बैठकबाट एमालेले दशैं अगावै संघ र प्रदेशतर्फ प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने गरी गृहकार्य गर्ने भएको छ। गृहकार्यलाई अन्तिम रूप दिन बिहीबार रातिसम्म केन्द्रीय सचिवालय बैठक बसेको थियो। बैठक लगातार बस्ने र दशैं अगावै उम्मेदवार तथा निर्वाचनको घोषणापत्र टुंग्याउने नेताहरूको भनाइ छ। ‘ आजको बैठक प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचनमा प्रस्तुत गरिने पार्टीको घोषणापत्रमा केन्द्रीत रहेर छलफल भएको थियो’, सचिवालयका एक सदस्यले भने । ती सदस्यका अनुसार दशैं अगावै उम्मेदवार टुंगो लगाएर दशैंमा पठाउने तयारी भएको छ।

    सत्तारूढ गठबन्धनको क्षेत्र बाँडफाँड र त्यसबाट उत्पन्न हुनसक्ने असन्तुष्टिलाई समेत मध्यनजर गरेर उम्मेदवार टुंगो लगाउने रणनीतिमा एमाले छ। गठबन्धनभित्रको असन्तुष्टितिर नजर लगाउँदै एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राप्रपासँगको तालमेलको अन्तिम टुंगो लगाइसकेको छैन। ‘लोसपाले बढी सीट माग्यो मधेशमा त्यति धेरै सीट दिन सकिदैन बरु एक्लै निर्वाचन लड्न फाइदा होला जस्तो छ’, एमालेका एक पदाधिकारीले भने।

    गठबन्धनभित्र सीट बाँडफाँडमा असन्तुष्टि देखिएपछि एमालेले बुधबार बोलाउने तयारी गरेको सचिवालय बैठकलाई गृहकार्य नपुगेको भन्दै बिहीबारलाई सारेको थियो। तर, बिहीबारबाट सुरु भएको सचिवालय बैठक भने लगातार बस्ने र दशैं अगावै उम्मेदवार तथा निर्वाचनको घोषणापत्र टुंग्याउने नेताहरूको भनाइ छ। अध्यक्ष केपी ओलीले निकटस्थ नेताहरूसँग समेत परामर्श गरेर प्रतिनिधिसभातर्फका ८० प्रतिशतभन्दा बढी उम्मेदवार टुंग्याइसकेका छन्। ६० निर्वाचन क्षेत्रमा जिल्ला र प्रदेशबाटै सर्वसम्मत टुंगिएर उम्मेदवारको नाम आएको र थप ५० हाराहारीमा दुईजनाको मात्र दाबी रहेकाले संघतर्फको उम्मेदवार टुंगो लगाउन गठबन्धनको तुलनामा एमालेलाई सहज देखिएको छ। ओलीसहितका ५६ जना त यसअघि नै एकल सिफारिस भएका थिए।

    तर, लोसपा र राप्रपासँगको सम्भावित तालमेल र बाँकी क्षेत्रका उम्मेदवार टुंग्याउन भने असजिलो रहेको एमाले नेताहरुले बताएका छन्। त्यस्तै, प्रदेशतर्फको तीन सय ३० सीटमध्ये आधा क्षेत्रको पनि गृहकार्य नभएकाले बैठक थप दुई दिन लम्बिन सक्ने एक पदाधिकारीले बताए। ‘अहिले धेरै जसो स्थानमा टुंगिएको छ, एक दुई दिनमै सबै सीटको टुंगो लगाउने तयारी छ’, स्रोतले भन्यो। एमालेका उपमहासचिव विष्णु रिमाल र प्रदीप ज्ञावालीले जिल्लाबाट सिफारिस भएर आएका नामलाई बिहीबारको बैठकमा राखिएको भएपनि ती नामहरुको बारेमा बैठकका पदाधिकारीले केही बताएका छैनन्।