राजस्व संकलनको लक्ष्य पूरा गर्न करको दायरा बढाऊन अर्थ मन्त्रालयको निर्देशन - Chaitanya News
  • 2026-04-18
  • 07:24:36
  • शनिबार,बैशाख ०५, २०८३
  • राजस्व संकलनको लक्ष्य पूरा गर्न करको दायरा बढाऊन अर्थ मन्त्रालयको निर्देशन

    राजस्व संकलनको लक्ष्य पूरा गर्न करको दायरा बढाऊन अर्थ मन्त्रालयको निर्देशन

    काठमाडौं– अर्थ मन्त्रालयले करको दायरा बढाएर भए पनि राजस्व संकलनको लक्ष्य भेट्टाउन मातहतका निकायलाई निर्देशन दिएको छ। राजस्व सचिव रामेश्वर दंगालले चालु आर्थिक वर्षलाई तोकिएको राजस्व संकलनको लक्ष्य पूरा गर्न करको दायरा बढाउनुपर्ने बताएका हुन्।

    आन्तरिक राजस्व विभागको कार्यक्रममा राजस्व सचिवले करको दायरा बढाउने अभिव्यक्ति दिएका हुन्। दायरा बढाएर भए पनि लक्ष्य पूरा गर्न उनले निर्देशन दिए।

    राजस्व सचिव दंगालले बिलिङ्ग इन्फोर्समेन्टमा ध्यान दिन, बक्यौता कर असुल गर्न र गुणात्मक कर परीक्षण गर्न निर्देशन दिए। भन्सार विभाग र आन्तरिक राजस्व विभागले देशभरका राजस्व कार्यालयका प्रमुखलाई काठमाडौं बोलाएर लक्ष्यअनुसार राजस्व संकलनको निर्देशन दिएको छ।

    भन्सार र आन्तरिक राजस्व दुवैले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलनको रणनीति बनाउनुका साथै भन्सार र कर प्रशासनमा देखिएका समस्या समाधान गर्न कस्तो नीतिगत सुधार गर्ने भन्ने विषयमा छलफल गर्न कार्यालय प्रमुखलाई बोलाएको छ।

    यो वर्ष भन्सार विभाग र आन्तरिक राजस्व विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्षको भदौसम्ममा १ खर्ब ६५ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ३५ अर्ब रुपैयाँमात्रै संकलन भएको छ।

    गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको भन्सार विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ। ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ।