आगामी चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो शक्ति बन्न सक्ने राजेन्द्र लिङदेन दाबी - Chaitanya News
  • 2026-04-18
  • 07:27:12
  • शनिबार,बैशाख ०५, २०८३
  • आगामी चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो शक्ति बन्न सक्ने राजेन्द्र लिङदेन दाबी

    आगामी चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो शक्ति बन्न सक्ने राजेन्द्र लिङदेन दाबी

    काठमाडौंं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरेका छन्।

    आज विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै उनले अब चुनावमा पहिलो बन्ने उद्घोष गरेका हुन्।

    एकता घोषणा समारोहमा लिङदेनले काठमाडौंका मेयर बालेन्द्र साहले चुनाव जितेको उदाहरण पेश गरेका थिए।

    ‘कसले ठानेको थियो, बालेन्द्रले चुनाव जित्छन् भन्ने?’ उनले भने, ‘कांग्रेस–एमालेले उनलाई मतदान अघिसम्म खिसिट्यूरी गरिरहेका थिए। तर, जब बाकस खोलियो अनि बल्ल उनीहरू झस्किए।’ लिङदेनले आगामी चुनावमा पनि जनताले विश्वासिलो विकल्प खोजिरहेको बताए।

    ‘तीन दशकदेखि प्रजातन्त्र र गणतन्त्रको नाममा जारी लुटतन्त्रको अन्त्य देशले खोजिरहेको छ। खाली विश्वासिलो शक्तिको आवश्यकता छ। अहिले त्यस्तो विकल्प खोज्नेहरूले राप्रपालाई आशाको नजरले हेरिरहेका छन्,’ उनले भने। राप्रपा अब कसैले रोक्न नसक्ने गरी अगाडि बढेको उनले बताए।

    ‘राप्रपा अब अगाडि बढ्यो, बढ्यो, यसको गतिलाई अब कसैले चाहेर पनि रोक्न सक्दैन,’ लिङदेनले भने।राप्रपा अब संसद्मा धेरै सिट ल्याउने होइन, पहिलो सिट ल्याउने सङ्कल्पका साथ अघि बढ्ने लिङ्देनले उद्घोष गरे।

    ‘एक–डेढ महिनाभित्र विश्वस्त ढंगले आफ्नो क्रियाकलाप अगाडि बढाउन सके हामीसँग अवसर छ। जनता परिवर्तनको पक्षमा छन् भन्ने काठमाडौं र धरानको मतदाताले देखाइदिए नि। विगतमा हामी आफ्नै गलत व्यवस्थापनका कारण पटकपटक हार्यौँ। त्यसैले चुनाव जितिन्छ र? भन्ने हीन मानसिकता अहिले पनि बाँकी छ। त्यसलाई निकालौँ। हामी पहिलो शक्ति बन्न सक्छौँ।’

    अरू पार्टीका मान्छेहरूले पनि यसपालि भोट राप्रपालाई हाल्नुपर्ने लिङदेनको भनाइ छ। उनले अरू बेला कांग्रेस र एमाले भनेर चिनिए पनि भोट हाल्नेबेलामा हलोमा हाल्न आग्रह गरे।

    ‘कांग्रेस, एमाले, माओवादीमै बसेर पनि यसपालि हलोमा भोट दिन पाइन्छ। कांग्रेस–एमाले जिन्दावाद भनेर हिँड्ने, हाल्दा हलोमा हाल्ने। गन्दा मात्रै नेताले थाहा पाओस्,’ उनले भने।

    लिङदनले मिश्रसहित पार्टीमा आएका नेताहरूले कत्ति पनि असहजता महसुस गर्नु नपर्ने प्रत्याभूति दिलाए। आफूहरूले पदका लागि राजनीति नगरेको भन्दै उनले भोलि पनि पदकै कारण झगडा नगर्ने प्रतिबद्धता व्यक्त गरे।