काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दल तथा उमेदवारले चुनावमा गर्ने खर्चको ट्रयाकिङ गर्ने तयारी गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले समाजिक सञ्जाल सहित अन्य क्षेत्रमा हुने खर्चको अनुगमन गर्ने तयारीलाई तिव्रता दिइरहेको बताए।
आयोगले अब खर्च विवरण ट्र्याक गर्नका लागि विभिन्न अनुगमन समिति परिचालन गर्ने भएको छ। समाजिक सञ्जालमार्फत भएका खर्चहरुबारे थाहा पाउन मेटा कम्पनीसँग केही सम्झौता गरेको र स्पोन्सर्ड गरेको खर्चको हिसाब उसले दिने सहमति भएको आयोगले जनाएको छ।
“उदाहरणका लागि एकजना उमेदवारलाई २५ हजार खर्च गर्न तोकिएको छ । फेसबुक कम्पनीलाई नै ३० लाख बुझाउनुभयो भने त ठ्याक्कै भेटिइहाल्यो,” पौडेल भन्छन्, “अरु खर्चका लागि कसरी ट्रयाकिङ गर्ने, प्रहरी संयन्त्र परिचालन गर्ने, सुक्ष्म अनुगमन परिचालन गरेर आयोगले खर्च अनुगमन गर्नका लागि निकै अभ्यास गरिरहेको अवस्था छ।”
आयोगले आज दल र उमेदवारले गर्ने खर्चको सीमाबारे दलहरुसँग छलफल गरेको थियो। आयोगले खर्च सीमाबारे प्रस्ताव पनि राखेको छ। खर्चका विषयमा निर्णय गरेर राजपत्रमा प्रकाशित गरिने पौडेलको भनाइ छ।