काठमाडौं, असोज ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका छन ।
काठमाडौंमा आज अखिल नेपाल किसान महासङ्घको भेललाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षड्यन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताए ।
उनले नागरिकता विधेयक प्रमाणीकरण गर्ने काम संविधानमाथिको प्रहार भएको बताए । सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको उनको भनाई छ ।
उनले प्रतिगमन रोक्न जनताको पहल गर्नुपर्ने र सडकमा समेत जानुपर्ने अवस्था आउन सक्ने धारणा राखे देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार भइरहेको भन्दै उनले एकथरी मान्छेहरू प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेको उल्लेख गरे ।
नेपाल राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइरहेकाले सबै सचेत हुनुपर्ने उनको भनाई छ ।