जनताको सेवा गर्ने राजनीतिक सिपाही हुँ, पार्टीले कैलाली ५ ‘ख’बाट टिकट दिनेमा विश्वस्त छु : केशव मिश्र - Chaitanya News
  • 2026-05-28
  • 17:34:18
  • बिहिबार,जेठ १४, २०८३
  • जनताको सेवा गर्ने राजनीतिक सिपाही हुँ, पार्टीले कैलाली ५ ‘ख’बाट टिकट दिनेमा विश्वस्त छु : केशव मिश्र

    जनताको सेवा गर्ने राजनीतिक सिपाही हुँ, पार्टीले कैलाली ५ ‘ख’बाट टिकट दिनेमा विश्वस्त छु : केशव मिश्र

    केशव मिश्र नेपाली कांग्रेसका युवा नेता हुन्। विद्यार्थी जीवनबाट राजनीतिमा होमिएका मिश्र सुदूरपश्चिमका विभिन्न परिवर्तनका राजनीतिक आन्दोलनमा अग्रमोर्चामा रहेर काम गर्ने व्यक्ति हुन्। नेपाल विद्यार्थी संघका पूर्वजिल्ला सचिव, पूर्वकेन्द्रीय सदस्य र १२औं महाधिवेशनबाट धनगढी नगरपालिकाका नगर सचिवसमेत भइसकेका मिश्र हाल १४औं महाधिवेशनबाट कांग्रेस कैलालीका सचिव छन्। उनले यसअघि १३औं महाधिवेशनबाट कांग्रेस कैलाली जिल्ला सदस्य भएरसमेत काम गरिसकेका छन्। मिश्रले सुदूरपश्चिमाञ्चल एकेडेमीमा संस्थापक इकाइ अध्यक्ष भएर समेत काम गरेका थिए। उनको नाम धनगढी क्षेत्र नम्बर ५ ‘ख’ बाट प्रदेश सभाका लागि सिफारिस भएको छ। उनको उम्मेदवारी किन? प्रस्तुत छ यही विषयमा केन्द्रीय रहेर उनीसँग गरिएको संवाद :

    कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट प्रदेश सभामा सिफारिस हुनुभएको छ, तपाईंको उम्मेदवारी किन?

    संघीयता आइसकेपछि सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउनका लागि मेरो उम्मेदवारी हो। यसका साथै उत्पीडनमा परेको वर्ग र समुदायको उत्थानमा काम गर्न पनि मेरो उम्मेदवारी हो। हामीले समृद्धिका लागि लामो समयदेखि आन्दोलन गरेका छौं। समृद्धि कसरी हासिल गर्न हामी सबैले आफ्नो तर्फबाट राष्ट्रको विकासमा योगदान पुर्‍याउनुपर्छ। म त्यही सोचका साथ राजनीतिमा होमिएको हुँ। विद्यार्थी जीवनदेखि नै म राजनीतिमा सक्रिय छु। सुदूरको समृद्धिका लागि मसँग थुप्रै योजना र सपना छन्। ती योजनालाई साकार पार्न नै मेरो उम्मेदवारी हो। एकात्मक व्यवस्थाबाट मुलुकको विकास हुन सकेन भनेर हामी संघीय लोकतान्त्रीक गणतन्त्रमा गएका हौं। अब पनि यो वा त्यो बाहनामा हामीलाई जनताको काम नगर्ने छुट छैन। अब सरकार जनमैत्री बन्नुपर्छ भन्ने हाम्रो चाहना हो। यहाँका थिचोमिचोमा परेका वर्ग समुदायको उत्थान यहाँकै स्थानीय सरकारले नै गर्न सक्छ। उहाँका पर्यटकीय स्थलको प्रवद्र्धन यहाँकै सरकारले गर्न सक्छ। हामीले नै हाम्रो प्रदेशलाई समृद्ध बनाउन सक्छौं। विद्यार्थी राजनीतिमा होमिँदै गर्दा पनि पूर्ण समाजवाद उन्मुख समाज निर्माण गर्न सकिन्छ भन्ने नै थियो। अब हामीले त्यसलाई सार्थक तुल्याउन काम गर्ने बेला आएको छ। सोही काम गर्नका लागि पनि मेरो उम्मेदवारी हो।

    तपाईं कांग्रेस कैलाली जिल्ला सचिव, के पछिल्लो समय कैलाली कांग्रेसमा विचलन आएको हो?

    म विचलनै आएको भन्न चाहँदैन। आन्तरिक प्रतिस्पर्धाले कहिँ न कतै मनमुटाव हुन्छ। हाम्रो १४औं महाधिवेशन सकिएको ६ महिना मात्रै भएको छ। त्यसैले पनि एउटा खाले तरंग फैलनु स्वभाविकै हो। स्थानीय तहको निर्वाचन पनि भरखर सकिएको छ। नेपाली कांग्रेस ठूलो संरचना भएको पार्टी संगठन हो। कांग्रेसभित्र आफ्नो विचारलाई स्वस्फूर्त रुपमा राख्न सकिने वातावरण छ। कांग्रेसभित्र आफ्ना विचार त्यति धेरै दण्डित गर्ने प्रावधान छैन। किनकि यो लोकतान्त्रीक पार्टी हो। अभिव्यक्ति स्वतन्त्रताका लागि लडेको पार्टीले अलिबढी बोल्दा विचलन आएको देखिए पनि वास्तविकता त्यस्तो होइन। पार्टीको चुनाव भरखरै सकिएकाले केही तुस देखिनुलाई स्वभाविक रुपमभा लिनुपर्छ।

    संघको लागि आरजु देउवालाई बलियो रुपमा हेरिएको अवस्थामा उहाँ किन व्याग हुनुभयो जस्तो लाग्छ?

    आरजु देउवा व्याग हुनुलाई हामीले पनि अपत्यारिलो रुपमा लिएका छौं। लोकतन्त्रमा हार र जितलाई धेरै ठूलो रुपमा लिनु हुँदैन। उहाँले २०७४ सालको निर्वाचनमा पराजय हुँदा पनि निरन्तर धर्म निर्वाह गर्नु भएको छ। उहाँले अनवरतसम्म कैलाली क्षेत्र नम्बर ५ का जनताको हितमा हुने काम गर्नु भएको छ। उहाँले पराजय भोग्दा पनि जितेको व्यक्ति भन्दा बढी काम गर्नु भएको छ। कोरोना कालमा होस् चाहे अन्य समस्या पर्दा होस् उहाँले निरन्तर सहयोग गर्नुभएको छ। त्यसैले उहाँले त्यो क्षेत्रलाई छोडेर हामी कार्यकर्तामाथि अन्याय भएको छ। आरजु देउवा कैलाली ५ का लागि चाहिने व्यक्ति हो।

    पछिल्लो समय उहाँसँग मेरो भेट नभए पनि अस्वस्थताका कारण उहाँले चुनाव लड्न नचाहेको भन्ने सुनेको छु। उहाँ पछिल्लो एक वर्षदेखि निरन्तर उपचारमा हुनुहुन्छ। हिजोमात्रै उहाँ पुनः उपचारका लागि दिल्ली जानुभएको कुरा सुनेको छु। चुनावको समयमा जनताको घर दैलोमा जानुपर्ने हुन्छ। उहाँको स्वास्थ्यमा समस्या भएकाले त्यो सहजता पनि हुन नसक्ने देखेर उहाँले छोड्नु भएको हो भन्ने मलाई लाग्छ। उहाँले क्षेत्र छोडे पनि मूल राजनीतिमा स्थापित व्यक्ति हो। उहाँ सधैँ जनताको माझमा नै रहने जनप्रिय नेता हो। जनताले चुनावको बेला–बेला आफ्नो घरदैलोमा देख्न खोजिरहेका हुन्छन्। तर, स्वास्थ्यका कारण उहाँ यस पटक त्यो अवस्थामा हुनुहुन्थेन भन्ने मेरो बुझाई छ।

    अब कैलाली ५ मा गठबन्धन कसरी अगाडि बढ्छ? त्यहाँ गठबन्धनको अपरिहार्यता के हो?

    संविधानको रक्षाका लागि शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन बनेको हो। त्यसपछि यसैलाई निरन्तरता दिनुपर्ने परिस्थिति आइलागेको हो। धनगढीको अवस्था हेर्दा एक्लै लड्ने परिस्थिति छ। हामीले अधिकांश वडामा स्थानीय तहमा जित हासिल गरेका छौं। धनगढीमा गठबन्धन नगर्दा पनि कांग्रेस एक्लै अघि बढ्न सक्ने अवस्थामा छ। तर, पार्टीको नेतृत्वले देशभर गठबन्धन गर्नुपर्छ भनिसकेपछि त्यहाँको गठबन्धन, त्यहाँको वस्तु परिस्थिति अनुसार गर्ने भन्ने कुरा पनि छ। त्यसैले कैलालीमा संघीय क्षेत्र कांग्रेसको नै हुन्छ। र, प्रदेशतर्फ पनि प्रदेश ‘ख’ कांग्रेसले पाउनेमा म विश्वस्त छु। म जस्ता सक्षम युवालाई पार्टीले न्याय गर्नेमा पनि म आसावादी छु। सिट बाँडफाँड भइनसकेको अवस्थामा के हुन्छ भन्ने नसकिए पनि महत्त्वपूर्ण उपस्थितिका साथ कांग्रेस कैलाली ५ बाट निर्वाचनमा होमिन्छ।

    अन्त्यमा के भन्न चाहनुहुन्छ?

    म लामो समयदेखि लोकतान्त्रीक आन्दोलनमा होमिएको सिपाही हुँ। यो एउटा सिपाहीका लागि काम गर्ने अवसर हो। जनताको सेवा गर्न ठाउँ चाहिन्छ। म त्यही ठाउँको खोजीमा छु। त्यसैले समग्र सुदूरपश्चिमको विकासका लागि पार्टीले म जस्ता युवालाई स्थान दिनेमा विश्वस्त छु। सुदूरपश्चिमलाई समुन्नत राज्य बनाउने मेरो अग्रणी भूमिका जहिल्यै रहने छ। जनताका दुःख र पीडामा म सधैँ सँगसँगै रहने छु। यो मेरो प्रतिवद्धता हो। जनताको घर र मनमा मेरो सरकार छ भन्ने आभाष दिलाउने गरी मैले काम गर्ने छु।