पवन गोल्यान भन्छन्- देशको समृद्धिका लागि नेपाली उत्पादन प्रयोग गरौं - Chaitanya News
  • 2026-04-23
  • 00:19:59
  • बुधबार,बैशाख ०९, २०८३
  • पवन गोल्यान भन्छन्- देशको समृद्धिका लागि नेपाली उत्पादन प्रयोग गरौं

    पवन गोल्यान भन्छन्- देशको समृद्धिका लागि नेपाली उत्पादन प्रयोग गरौं

    मानव संसाधनलाई मानव पुजीमा रुपान्तरण नै संस्थाको

    काठमाडौं- एनएमबी बैंक तथा गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले समृद्धिको यात्रा एक-एकजना व्यक्तिबाट नै सुरू हुने बताएका छन्। चैतन्यको आयोजनामा शनिबारदेखि धुलिखेलमा आयोजना गरेको ‘सुशासन र समृद्धि’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै गोल्यानले ठूला-ठूला योजना एक जना व्यक्तिको कामले फरक पार्ने बताए।

    दोस्रो दिनको पाँचौं सेसनमा बोल्दै गोल्यान गोल्यान समूह र एनएमबी बैंक सफल हुनुमा कर्मचारीकै कारण सफल हुनसकेको बताए। कर्मचारी भनेको कुनै पनि देश र कम्पनीका लागि मेरुदण्ड भएको उनको तर्क छ। ‘गोल्यान समूह सफल हुनुमा कर्मचारीको ठूलो हात छ, हामी सफल हुनुको प्रमुख कारण सुशासन नै हो, हामीले गरेका सबै योजनामा कर्मचारीको पूरा सहयोग छ। त्यसैले कर्मचारीले चाहेको खण्डमा देश पनि समृद्ध बन्न सक्छ,’ उनले भने।

    गोल्यानले सिंगापुर लगायत तरक्की गरेका देशहरू एक जनाकै कारणले बन्न सम्भव भएकाले हामीले ‘म एक जनाले के गर्न सक्छु र ?’ भन्ने भावना त्याग्नुपर्ने बताए। एक जनाको हिम्मतका कारण धेरै कुरा सम्भव बहेको उनले बताए।

    नेपालमा कृषि पेशा ‘व्यावसाय’ बन्न नसकेको उनको गुनासो छ। ‘हाम्रा आफ्नै कारण र सरकारका कतिपय प्रावधानका कारण हामीले कृषिलाई व्यावसाय बनाउन सकेका छैनौँ, तर अब हामी सबैले यसबारे सोच्नुपर्छ, कर्मचारीले पनि खाली समयमा कृषिलाई अपनाउने हो भने यसले पनि फरक पार्छ,’ उनी भन्छन्।

    उनले कृषिका लागि स्थानीय तहहरूले नयाँ तरिकाले सोच्नुपर्ने बेला भएको बताए। अहिले देशको सबैभन्दा शक्तिशाली सरकार स्थानीय सरकार नै भएकाले हिम्मत गरेर लाग्नुपर्ने उनको भनाई छ।

    कुनै पनि कृषियोग्य जमिन बाँझो रहन नहुने भन्दै उनले सबैलाई कृषि कर्ममा जोडिनको लागि आग्रह गरे। साथसाथै उनले यसरी लागेको खण्डमा नेपाल ३ महिनाभित्र तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताए।

    गोल्यानले हामी सबैले नेपाली उत्पादन प्रयोग गरेमात्रै काम गर्नेहरूलाई पनि प्रेरणा मिल्ने बताए। ‘पहिले त चलन थियो, अहिले सबै हट्यो। सरकारी कार्यालय टिप्पणी उठाउन नेपाली कागजको प्रयोग अनिवार्य थियो, अहिले त्यो सिस्टम हट्यो। मैले त के सुन्दै छु भने अब त लालपूर्जा पनि नेपाली कागजमा नबन्ने भयो रे, यसरी चाहिं हुँदैन, उनले भने। सरकारी कार्यालयमा नेपाली कागजको प्रयोग अनिवार्य गराउनुपर्ने उनको तर्क थियो।

    यस्तै फलफुलदेखि तरकारीसम्म नेपाली मात्रै प्रयोग गर्नुपर्ने उनी बताउँछन्। उनले बासमती चामल खाने, अमेरिकाको किवी खाने, भारतीय फलफुल खानेहरूले नेपाली कृषि प्रवर्दनको कुरा गर्ने गरेको बताए। सबै नेपालीले नेपाली उत्पादन मात्रै प्रयोग गर्न थाल्नेहो भने कृषि कार्यमा लाग्नेलाई पनि प्रोत्साहन हुने उनको तर्क छ।

    उनले कालिमाटीको तरकारी बजारको प्रसङ्ग जोड्दै भारतीय कागती ८० रुपैयाँमा खरिद गर्ने व्यापारीले नेपाली कागती ५० रुपैयाँमा पनि खरिद गर्न आनाकानी गर्नेगरेको गुनासो गरे।