काठमाडौं– महाभियोग सिफारिस समितिको बैठक दिउँसो १ बजेका लागि सरेको छ। बिहान साढे ८ बजेका लागि बोलाइएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू उपस्थित नहुने भनेपछि सारिएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले बताए।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बयानपछि समितिले सर्वोच्चका न्यायाधीशहरुलाई पनि छलफलमा बोलाएको थियो। तर, बुधबार सर्वोच्चको पूर्ण बैठक बसेर न्यायाधीशहरुले आफूहरु समितिमा उपस्थित नहुने जानकारी दिएका थिए।
समितिले राणाले बयानका क्रममा नाम लिएका व्यक्तिहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ। राणाले बयानका क्रममा सर्वोच्चका केही न्यायाधीशहरुको नाम लिएका थिए। त्यस्तै, पूर्वन्यायाधीश र बारका पदाधिकारीको पनि नाम लिएका थिए।
राणाले बयानका क्रममा आफ्नो अभियोगमा सफाइदिने भन्दा अरुलाई आरोपित गर्ने कार्य धेरै गरेपछि समितिले उनीहरुसँग पनि छलफल गर्ने निर्णय गरेको थियो। बजेको बैठकमा पूर्वन्यायाधीशहरुलाई बोलाइएको छ।
पूर्वन्यायाधीशहरुले आफूहरुमाथि आरोप लागेपछि पत्रकार सम्मेलन नै गरेर खण्डन गरेका छन्। उनीहरुले बिहीबार समितिमा उपस्थित भएर राणाविरुद्ध बयान दिने तयारी गरेका छन्। संसद्को अवधि केही दिनमात्र बाँकी रहँदा समिति भने बयान लिने कार्यमा सीमित भएको छ।