पार्टीको निर्णयलाई सबैले मानेर निर्वाचनमा जाऔं : प्रचण्ड - Chaitanya News
  • 2026-04-18
  • 12:56:12
  • शनिबार,बैशाख ०५, २०८३
  • पार्टीको निर्णयलाई सबैले मानेर निर्वाचनमा जाऔं : प्रचण्ड

    पार्टीको निर्णयलाई सबैले मानेर निर्वाचनमा जाऔं : प्रचण्ड

    काठमाडौं– नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको निर्णयलाई सबैले मानेर निर्वाचनमा जानुपर्ने बताएका छन्। बिहीबार बिहान पोस्टबहादुर बोगटीको ८ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीले उम्मेदवार बनाएपछि जित्दा वा हार्दा व्यक्तिले नभई पार्टीले हार्ने हुने धारणा राखेका हुन्।

    उनले भने, ‘प्रक्रियागत ढंगले निर्णय गरेर उम्मेदवार खडा गरिसकेपछि व्यक्ति रहँदैन, त्यो पार्टी हुन्छ, त्यो निर्णय पार्टीको हुन्छ। त्यो व्यक्तिले जित्ने या हार्ने मुख्य कुरा हुँदैन। मुख्य कुरा पार्टीले जित्ने या हार्ने हुन्छ।’

    प्रदेश र संघको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी हुन एकताबद्ध भएर जानुपर्ने धारणा राखे।‘माओवादी पार्टी जनतामा स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने जनता चाहिँ अहिले पनि माओवादी पार्टीको हातमा चाहिँ देशको चाबी दिन चाहन्छन्। देशको राजनीति कता लैजाने भन्ने फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको भन्ने कुरा प्रष्ट देखिएको छ।’ उनले भने,‘हामी माओवादी नेता, कार्यकर्ताहरु चाहिँ यो बीचमा जति मेहनत गर्नुपर्ने, जति एकताबद्ध हुनुपर्ने, जनताबीच जानेपर्ने कुरामा कमजोरी छन्, रियलाइज गरिरहेका छौं।’

    उनले जनतामा माओवादीको पक्षमा हुँदाहुँदै पनि आन्तरिक व्यवस्थापन राम्रोसँग गर्न नसक्दा ५० भन्दा बढी स्थानीय तहमा हार व्यहोर्नुपरेको गुनासो गरे। प्रचण्डले पार्टीले उम्मेदवार उठाएपछि चित्त बुझेपनि नबुझेपनि विजयी बनाउन लाग्न निर्देशन दिए।

    उनले पार्टीको निर्णयभन्दा व्यक्तिगत स्वार्थलाई सर्वोपरी राख्दा पार्टी कमजोर हुने टिप्पणी गरे। उनले तेस्रो हुँदा पनि माओवादी निर्णायक भइरहेको दाबी गरे।