इजलास तोक्ने विषयमा ममाथि प्रश्न उठाउन मिल्दैन : प्रधानन्यायाधीश जबरा - Chaitanya News
  • 2026-04-18
  • 17:59:24
  • शनिबार,बैशाख ०५, २०८३
  • इजलास तोक्ने विषयमा ममाथि प्रश्न उठाउन मिल्दैन : प्रधानन्यायाधीश जबरा

    इजलास तोक्ने विषयमा ममाथि प्रश्न उठाउन मिल्दैन : प्रधानन्यायाधीश जबरा

    काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास तोक्ने विषयमा प्रश्न उठाउन नमिल्ने बताएका छन्।

    सिंहदरबारमा मंगलबार बसेको महाभियोग सिफारिस समितिको बैठकमा बयानका क्रममा जबराले इजलास तोक्ने संवैधानिक अधिकार प्रधानन्याधिशलाई नै दिएको भन्दै इजलास तोक्ने विषयमा प्रश्न उठाउन नमिल्ने बताए।

    उनले संवैधानिक नियुक्तिको विषय केही समय कोरोनाका कारण अवरुद्ध भएको र त्यसपछि आफूले उक्त मुद्दा नहेर्ने बताएको धारणा राखे। संवैधानिक नियुक्तिको मुद्दालाई रोक्न खोजेको आरोपको समेत कुनै पुष्टि नहुने उनको भनाइ छ।

    त्यस्तै उनले मन्त्रिपरिषदमा भाग माग्यो भन्ने कुराको आफुले यसअघि नै खण्डन गरिसकेको जानकारी दिए। जबराले मन्त्री बनाउने काम प्रधानमन्त्रीको भएको भन्दै कसैको अनुरोधका भरमा नै मन्त्री बनाउने भन्ने कुरा सोच्न नसकिने धारणा राखे।

    यस विषयमा आफुलाई जोड्नु कुनै तर्कसंगत नभएको र मन्त्री बनाउन दबाब दिएको भन्ने आरोप गलत रहेको उनले बताए। जबराले प्रधानन्याधीश नै राजनीतिक भागबन्डाको सौदाबाजीमा सहभागी भएको भन्ने आरोपमा पनि कुनै सत्यता नरहेको दाबी गरे।

    मंगलबारसम्म जबरासंग ४३ वटा प्रश्न सोधेको समितिका सचिव एवं प्रवक्ता लक्ष्मी गौतमले जानकारी दिए। अब पुरक प्रश्नका लागि आवश्यक दिनमा जबरालाई बोलाइने उहाले बताए। उनले बुधबार बिहान पुनः समितिको बैठक बस्ने र बयानका क्रममा नाम आएका व्यक्तिहरुलाई पनि सोधपुछ गर्नेबारे आवश्यक निर्णय हुने जानकारी दिए।

    गत फागुन १ गते जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। त्यसपछि उनी निलम्बनमा छन्।