रौतहट — गौर नगरपालिकास्थित कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । १ सय ६० जना क्षमताको भवनमा ३ सय ८२ कैदीबन्दीलाई राखिएको हो। कारागार विभागले पुग्दो बजेट नदिएपछि जीर्ण कारागार मर्मतमा समस्या भएको जेल प्रशासनको भनाइ छ।
कारागारका तीन भवनमध्ये एउटा निकै पुरानो छ। दुईवटा भवन पनि दाताले बनाइदिएका हुन्। कारागारको मूल भवन ८७ वर्ष पुरानो हो। विसं १९८९ मा कारागार स्थापना भएको थियो। क्षमताभन्दा बढी कैदीबन्दीले बस्न समस्या हुन थालेपछि केही महिनाअघि उधारो सामान मगाई तला थपेर जस्तापाता लगाइएको जेलर शम्भु यादवले बताए। यादवका अनुसार ठाउँ अभावमा कैदीबन्दीहरू केही भर्याङ र भान्सा घरमा सुत्ने गरेका थिए।
‘अहिले माथिल्लो तलामा अस्थायी रुपमा कैदीलाई बस्न सुत्न हुने बनाइएको छ,’ उनले भने, ‘यसरी चन्दा उठाएर कतिन्जेल काम चलाउनु? कारागार बलियो भएन भने समस्या हुन्छ।’ वर्षायाममा कारागार भित्र र बाहिर कम्पाउन्डमा पानी जम्ने समस्या पनि छ। २०७२ सालको भूकम्पले कारागारको पुरानो भवन चर्किएको छ। पुरानो जीर्ण भवन कुनै पनि बेला भत्किने डरले रातभरि सुत्न नसकेको कैदीबन्दीको गुनासो छ। कारागारमा अहिले लागूऔषध, सवारी ज्यान, कर्तव्य ज्यान, चेलीबेटी बेचबिखन, मानव ओसारपसार, अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणीलगायत मुद्दामा कैदीबन्दी छन्।