काठमाडौं– अवैध संरचना हटाउने अभियान थालेको काठमाडौं महानगरपालिकाले सोमवार बालाजु क्षेत्रका अवैध संरचनामाथि डोजर चलाएको छ। मेयर बालेन्द्र साहको सक्रियतामा शुरू भएको अभियानअन्तर्गत सोमवार बालाजुस्थित माछापोखरी क्षेत्रका अनधिकृत संरचना हटाइएको हो।
महानगरपालिकाले गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजर लगाएर भत्काएको छ।
यसअघि आइतवार काठमाडौं महानगरपालिकाले जडिबुटी क्षेत्रको अवैध संरचना हटाएको थियो।
महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरिएका भौतिक संरचना र प्रयोजनविपरित प्रयोग गरिएका संरचनाहरू हटाउन थालेको हो। महानगरपालिकाले व्यवसायिक भवनहरूले बेसमेन्टमा पार्किङ राख्ने भनेर नक्सा स्वीकृत गराए पनि पार्किङ नराखी अन्य प्रयोजनमा प्रयोग गरेकाहरूलाई खाली गराइरहेको छ।
अभियानको शुरुआतमा मेयर बालेन आफै फिल्डमा खटिएर अनधिकृत संरचनाहरू हटाएका थिए। पछिल्लो समय महानगर प्रहरीको नेतृत्वमा अनधिकृत संरचनाहरू हटाउने काम भइरहेको छ। महानगरपालिकाले महानगरका ३२ वटै वडामा निर्माण गरिएका अवैध संरचनाहरू हटाइने जनाएको छ।
हालसम्म सुनधारा, न्यूरोड, त्रिपुरेश्वर, नयाँबानेश्वर, काटेश्वर, जडिबुटी, गोंगुबलगायतका क्षेत्रका अनधिकृत संरचना महानगरपालिकाले हटाइसकेको छ।