काठमाडौं– पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाए पनि कसले कति सिट पाउने त्यसमा केही उल्लेख छैन। बालुवाटारमा बिहीबार शीर्ष नेतालाई कार्यदलले बुझाएको प्रतिवेदनमा विवाद रहेको सिट र समाधान भएको सिटको वस्तुस्थिति समावेश छ।
कसले कति सिट पाउने भन्ने विषयमा आज टुंगो लाग्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दाबी गरेका छन्। प्रेस सेन्टर कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आज ३ बजेपछि शीर्ष नेताको बैठक बस्ने र भागवण्डा टुंगो लगाउने बताए।
सिट बाँडफाँटको विषयलाई लिएर गठबन्धनमा कुनै जटिल समस्या नरहेको उनको भनाइ छ । ‘गठबन्धन सकारात्मक ढंगले समझदारी र सहमतिको निकट पुगिसकेका छौँ। हिजो नेताहरूको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंग्याउने स्थिति थियो,’ उनले भने, ‘आज ३ बजे टुंग्याउने हिसाबले छलफल गर्दैछौँ। जटिल समस्या पैदा भएको केही छैन।’