काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनभित्र सिट बाँडफाँटमा कुनै समस्या नभएको दावी गरेका छन्। शुक्रबार प्रेस सेन्टर कास्कीले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले गठबन्धनभित्र सिट बाँडफाँटको विषय समझदारी र सहमतिको निकट पुगिसकेको समेत बताए।
‘हिजो अरु नेताहरुको अन्यत्र कार्यक्रम नपरेको भए हिजै टुंग्याउने स्थिति बनिसकेको थियो’, प्रचण्डले भने, ‘कतिपय बेला म उद्योग परिसंघको कार्यक्रममा जानुपर्ने, कतिपय बेला माधव नेपालको पर्ने र कतिपय बेला प्रधानमन्त्रीको कार्यक्रम परेका कारण हिजो केन्द्रीत भएर लाग्न पाएनौं।’
उनले आज बिहान आफु पोखरा आउनुपरेको भन्दै पोखराबाट फर्केलगत्तै पुनः गठबन्धनमा छलफल गरेर टुंग्याउने दाबी गरे। ‘आज दुई तीन बजेबाट त्यसलाई टुंग्याउने हिसाबले छलफल गर्दैछौ। सिट बाँडफाँटमा त्यस्तो जटिल समस्या पैदा भएको केही पनि छैन, हामी समझदारी बनाएर नै जान्छौ’, प्रचण्डको भनाइ छ। उनले संविधान र लोकतन्त्रको उद्देश्यको रक्षा गर्न गठबन्धन बनेकाले गठबन्धन अझै आवश्यक रहेको बताए।
ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने नैतिकता छैन
अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने कुनै नैतिकता नभएको पनि बताए। ‘हिजो राज्य व्यवस्था समितिबाट त्यसलाई बहुमतले पारित गरिसकेपछि म र राज्य व्यवस्था समितिको सभापति समेत पटक–पटक केपी ओलीलाई वैवाहिक अंगिकृतसहित लैजाउ सदनमा भन्दा मान्नुभएन। ६ महिनासम्म रोक्नुभयो’, प्रचण्डले भने, ‘अन्ततः यही कुरालाई अध्यादेशमार्फत ल्याउने कुनै तुक, आधार र नैतिकता छैन।’
त्यो नैतिकता नभएपनि एमालेले नागरिकता विधेयकको विरोध गरिरहेको प्रचण्डको भनाइ छ। अध्यक्ष प्रचण्डले दुवै सदनबाट पारित भैसकेको उक्त विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेकोमा असन्तुष्टि जनाए। ‘सामान्यतया दुवै सदनबाट पारित भैसकेपछि राष्ट्रपतिले त्यसलाई पारित गर्नुपर्दथ्यो, पहिले गर्नुभएन र फिर्ता पठाउनुभयो’, प्रचण्डले भने, ‘संविधानले राष्ट्रपतिलाई एकपटक यस्ता विधेयकहरुमा चित्त बुझेन भने हेर भन्ने अधिकार नै छ ।’ प्रचण्डले फेरि दोस्रो पटक दुवै सदनबाट गैसकेपछि अब यताउता गर्ने अधिकार नभएको बताए।
‘दोस्रो पटक दुवै सदनबाट गैसकेपछि अब राष्ट्रपतिलाई यताउता गर्ने अधिकार छैन। त्यसकारण हामी आशा गर्छौ यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ’, प्रचण्डको विश्वास छ। नागरिकता विधेयक प्रमाणीकरण गरेर लाखौं नेपालीलाई राष्ट्रपतिले बचाउनुपर्ने पनि प्रचण्डको भनाइ छ। उनले शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पनि संसदमा पुगेको भन्दै छिटै टिआरसी सम्बन्धि विधेयकलाई पनि सहमतिबाट अघि बढाउने तयारी भइरहेको बताए।