काठमाडौँ– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आधिकारिक सुरुवातअघि नै क्रिकेटतर्फको खेल बिहीबारबाट सुरु भएको छ।
टी–२० फर्म्याटमा जारी प्रतियोगितामा पुरुषतर्फको उद्घाटन खेलमा गैरआवासीय नेपाली (एनआरएनए)ले विजयी सुरुवात गरको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाले प्रभावित बनाएको खेल ६ ओभरमा छोट्याइएको थियो। जहाँ एनआरएनएले पहिलो ब्याटिङ गर्दै ४ विकेट गुमाएर ७४ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिम ६ विकेट गुमाएर ६२ रनमात्र बनाउन सक्यो।
पहिलो ब्याटिङ गरेको एनआरएनएका लागि सागर पुनले सर्वाधिक ४६ रनको योगदान दिए। उनले १९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै, सुनम गौतमले २४ रन बनाएका थिए। सुदूरपश्चिमका लागि हेमन्त धामी र शेर मल्लले समान २–२ विकेट लिए।
७५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको सुदूरपश्चिम भने पुरै ओभर खेले पनि जित निकाल्न असफल रह्यो।
सुदूरपश्चिमका लागि ओपनर खड्का बोहराको १२ रन सर्वाधिक रह्यो। त्यस्तै, कप्तान राजु रिजालले ११ रन बनाउँदा थप दोहोरो स्कोरका रूपमा बसन्त खत्रीको १० रन रह्यो।