मन्त्री चौधरी भन्छन् : एउटै पार्टीले देश चलाउने परिपाटीको ‘च्याप्टर क्लोज’ भइसक्यो - Chaitanya News
  • 2026-04-22
  • 08:06:36
  • बुधबार,बैशाख ०९, २०८३
  • मन्त्री चौधरी भन्छन् : एउटै पार्टीले देश चलाउने परिपाटीको ‘च्याप्टर क्लोज’ भइसक्यो

    मन्त्री चौधरी भन्छन् : एउटै पार्टीले देश चलाउने परिपाटीको ‘च्याप्टर क्लोज’ भइसक्यो

    नेपालगन्ज — सहरी विकासमन्त्री मेटमणि चौधरीले एउटै व्यक्ति वा पार्टीले देश चलाउने परिपाटीको ‘च्याप्टर कलोज’ भइसकेको बताएका छन्। ‘कुनै दिन थियो होला एउटै व्यक्तिरपार्टीले देश चल्न सक्थ्यो। तर, ०७४ यताको निर्वाचनपछि सामूहिक रूपले मात्रै देश चल्न सक्ने देखिएको छ,’ उनले भने,‘त्यसैले अब पनि देश चलाउनका लागि राजनीतिक दलबीच गठबन्धनको आवश्यक छ।’

    बाँकेको जानकी गाउँपालिका–३ मा निमार्ण हुन थालेको सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको सिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले एकल पार्टीले सरकार चल्न नसक्ने बताएका हुन। उनले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभामा वर्तमान सरकारमा रहेका दलहरुबीच गठबन्धन हुने जनाए। ‘सिकलसेल अस्पताल एक्लो व्यक्तिले चल्न सम्भव छैन। त्यस्तै, एकल पार्टीबाट सरकार पनि अगाडि बढ्न सक्दैन,’ मन्त्री चौधरीले भने।

    उनले सिकलसेल अस्पतालको भवन निमार्णका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। ‘भौतिक संरचना बन्दैमा अस्पतालले निरन्तरता पाउन सक्दैन। त्यसका लागि स्वास्थ्यकर्मी, चिकित्सक र आवश्यक पर्ने भौतिक पूर्वाधार व्यवस्थापन अति आवश्यक छ,’ उनले भने।

    पश्चिम तराईमा बसोबास गर्ने थारु समुदायमा सिकलसेलको प्रकोप देखिएपछि थारु स्वास्थ्यकर्मीहरूको पहलमा सिकलसेल अस्पताल निमार्णको कार्य सुरु भएको हो। उपचार अभावमा कतिपय सिकलसेल पीडितले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गरी छुट्टै अस्पताल निमार्ण गर्न थालिएको हो। अस्पताल निमार्णका लागि विभिन्न अगुवाहरूले आर्थिक सहयोग गरिरहेका छन्।